१४ बैशाख २०८२ , आईतवार

१८ हजार १२४ जना विद्यार्थीमध्ये २ हजार ७३० जनाले ३.६ देखि ४ जिपिए प्राप्त गरे

News
१ बैशाख, काठमाण्डौँ ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज आधारभूत तहको कक्षा ८ को अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर र सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झासहितको परीक्षा समितिको बैठकले नतिजा विश्लेषण गरी प्रकाशन गरेको हो। बैठकमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजाबारे प्रस्तुति दिएका थिए।

ज्ञवालीका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या २ हजार ७३० छ। त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने ६ हजार ४५५, २.८ देखि ३.२ जीपीए ल्याउने ३ हजार ९७ र २.० देखि २.४ जीपीए ल्याउने २८ जना विद्यार्थी छन्। ० देखि १.६ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ५ हजार १७४ रहेको छ।

विषयगत रूपमा गणितमा सबैभन्दा धेरै ३ हजार ९५६ जना विद्यार्थी नट ग्रेडेड भएका छन्। ३६ प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने विद्यार्थी नट ग्रेडेडमा पर्छन्। सामाजिक तथा मानव मूल्य शिक्षामा १ हजार ९८२, विज्ञान तथा प्रविधिमा १ हजार ७९६, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयमा १ हजार २१२, नेपालीमा १ हजार ४४४, अंग्रेजीमा १ हजार ११७ र नेपाल भाषामा ६६७ जना विद्यार्थी नट ग्रेडेड भएका छन्।

यस वर्ष नतिजामा कसैलाई पनि ग्रेस मार्क दिइएको छैन। विषयगत रूपमा नट ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने निर्णय समितिले गरेको छ।

नतिजा सार्वजनिक भएपछि प्रवक्ता मानन्धरले परीक्षाफलले विद्यालयहरूको वास्तविक अवस्था देखाएको बताए। यसले सिकाइमा देखिएका कमजोरी सुधार गर्न आधार तयार भएको उनको भनाइ थियो।

आयोगका सदस्य झाले यो नतिजाले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई थप जिम्मेवार बन्नुपर्ने सन्देश दिएको बताए। महानगरपालिकाको शिक्षा विभागले पनि अझ धेरै काम गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै उनले पठन संस्कारको विकासले समग्र नतिजामा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरे।

प्राप्त अङ्क चित्त नबुझे पुनर्योगका लागि विद्यार्थीले वैशाख ४ गतेसम्म विद्यालयमा आवेदन दिन सक्नेछन् र विद्यालयले वैशाख ५ गतेभित्र शिक्षा विभागमा पेश गर्नुपर्नेछ।

सैद्धान्तिकतर्फ नट ग्रेडेड भएका विद्यार्थीहरूले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। यो परीक्षा वैशाख ८ देखि १४ गतेसम्म सञ्चालन हुनेछ, जसमा सहभागी हुन पुनः फारम भर्न वा थप शुल्क तिर्नु पर्दैन।

ग्रेड वृद्धि परीक्षाअन्तर्गत वैशाख ८ गते गणित, ९ गते अंग्रेजी, संस्कृत रचना, १० गते नेपाली, ११ गते विज्ञान तथा प्रविधि, १२ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, १३ गते स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला र १४ गते नेपाल भाषा/तामाङ भाषाको परीक्षा हुनेछ। परीक्षा केन्द्र शिक्षा विभागले तोक्नेछ।

चैत ७ गतेदेखि सुरु भएको परीक्षा १४ गते सम्पन्न भएको थियो। परीक्षापछि उत्तरपुस्तिकाहरू स्रोत केन्द्रमा जम्मा गरी कोडिङ गरिएको थियो। रोस्टरमा रहेका शिक्षकहरूले उत्तरपुस्तिकाहरू परीक्षण गरेका थिए। त्यसपछि डिकोडिङ गरी स्रोत केन्द्रहरूले विभागमा पठाएका थिए। विद्यार्थीले प्राप्त गरेको अङ्क एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्ट गराइएको थियो। नतिजा प्रकाशन गर्नुअघि उत्तरपुस्तिकामा प्राप्त अङ्क र प्रणालीमा प्रविष्ट गराइएको अङ्क रुजु गरिएको थियो।

परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि आधारभूत तहको परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिर राखिएको थियो। महानगरपालिकाको १६औँ नगर सभाबाट स्वीकृत बजेट तथा कार्यक्रममा कक्षा ८ को परीक्षा होम सेन्टर नपर्ने गरी केन्द्रअनुसार सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण एवं नतिजा प्रकाशन तथा विश्लेषण व्यवस्थापन, प्रश्नपत्र निर्माणका लागि रोस्टर शिक्षकको प्रशिक्षण, कार्यशाला र प्रश्नपत्र निर्माण सफ्टवेयर खरिद तथा अनुगमनका लागि १ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको थियो। यस वर्ष होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र तोकिएका थिए। परीक्षाका लागि १८ हजार २९४ जना विद्यार्थीले आवेदन दिएकामा वडा नं. ४ सुकेधारामा सञ्चालित ग्राण्ड एकेडेमी र वडा नम्बर ४ कै महाराजगञ्जमा रहेको स्किम पब्लिक स्कूलका विद्यार्थी परीक्षामा सहभागी भएनन्।

परीक्षा समितिका सदस्य सचिव ओमप्रसाद गौतमका अनुसार यस वर्ष १२४ जना विद्यार्थी अनुपस्थित रहे।

महानगरपालिकाभित्र आधारभूत तहसम्म सञ्चालित ५०४ वटा विद्यालयमध्ये २ वटाले परीक्षामा विद्यार्थी सहभागी नगराएपछि यो सङ्ख्या ५०२ भएको छ। तीमध्ये ७४ वटा सामुदायिक, २० वटा वैकल्पिक र ४०८ वटा संस्थागत विद्यालय छन्।

जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन्। यी विद्यालयबाट यस वर्ष क्रमशः २० र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा जेलका १ जना विद्यार्थी कैदमुक्त भएपछि ३१ जना विद्यार्थी सहभागी भए। केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

केन्द्रीय बहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई आफ्नै विद्यालयबाट परीक्षा लिइएको थियो। विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको हो। अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरूले परीक्षा केन्द्रबाटै परीक्षा दिएका थिए।