काठमाडौं महानगरपालिकाले पूर्व उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा शोक व्यक्त गर्दै आइतबार महानगरपालिकामा शोक बिदा दिने निर्णय गरेको छ। उनको शुक्रबार वैशाख १२ गते निधन भएको थियो।
महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै डंगोलको निधनले स्तब्ध बनाएको र उनको परिवारजनमा समवेदना प्रकट गरेको छ। लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग संघर्ष गरिरहेका डंगोलको उपचारका क्रममा मिर्गौलामा समस्या देखिएपछि डायलायसिस गरिएको थियो।
२०४३ सालमा काठमाडौं पञ्चायतको निर्वाचनमा प्रजातन्त्रवादी उम्मेदवारका रूपमा विजयी भएका डंगोलले उपप्रधानपञ्चका रूपमा सहर निर्माण, व्यवस्थापन र सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। उनको योगदानको कदर गर्दै महानगरपालिकाले शोक बिदा दिने निर्णय गरेको हो।
शोक बिदाको दिन महानगरपालिका र मातहतका कार्यालयहरू बन्द रहनेछन्, तर अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्। महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर लगायतले डंगोलको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।