धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ। निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्य राखिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम तोकिएका क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा पूर्वतर्फ बसपार्क क्षेत्र, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शङ्कराचार्य गेट पर्दछन्। प्रशासनले आदेश उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।
पछिल्लो समय क्षेत्रको सुरक्षा संवेदनशीलता बढेकाले सम्भावित अप्रिय घटनालाई रोक्न तथा शान्ति सुव्यवस्था कायम राख्न यो कदम चालिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।