स्थानीय बजारमा एक वर्षको अवधिमा सुनको मूल्य झण्डै आधा लाख रुपैयाँले बढेको छ। २०८१ वैशाख २ गते प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य वर्षको अन्तिम दिन चैत ३१ गते आइपुग्दा १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक वर्षमा सुनको मूल्य ४९ हजार २ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। एक वर्षमा सुनको मूल्य ३५ प्रतिशतले बढेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार २ सय ३८ अमेरिकी डलर पुगेको छ। गत वर्ष सोही अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २ हजार ४ सय २० डलर थियो।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएदेखि नै सुनको मूल्य निरन्तर बढ्न थालेको हो। युद्धको असर, डलर कमजोर हुनु, शेयर बजारमा गिरावट आउनु, विश्वमा आर्थिक क्षेत्र अनिश्चित हुनु लगायतका कारणले सुनको मूल्य बढेको उनको भनाइ छ। ट्रम्पको कर नीति र अन्तर्राष्ट्रिय भूराजनीतिक कारणले सुनको मूल्य बढ्दै गएको उनले बताए। अन्य लगानीका क्षेत्र सुरक्षित नहुँदा सुनमा लगानीकर्ता आकर्षित हुँदा पनि मूल्य बढेको हो।
महासंघका अनुसार २०८१ जेठमा प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य असारमा बढेर १ लाख ४२ हजार पुगेको थियो। साउनमा १ लाख ४९ हजार, भदौमा १ लाख ५२ हजार, असोजमा १ लाख ५६ हजार र कात्तिकमा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। मंसिरमा सरकारले सुन आयातमा लाग्दै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्दा सुनको मूल्य एकैपटक तोलामा २२ हजार ३ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ। पुसमा प्रतितोला १ लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन माघमा बढेर १ लाख ५६ हजार ६ सय र फागुनमा १ लाख ७० हजार ३ सय रुपैयाँमा पुगेको थियो।
निरन्तर सुनको मूल्य बढ्दा त्यसको असर व्यवसायी र उपभोक्ता दुवैलाई परेको छ। महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार मूल्य बढ्दा बजारमा माग न्यून भई कारोबारमा ८० प्रतिशत गिरावट आएको छ। उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा सुनको माग नभएको र काम चलाउनका लागि ग्राहकले पुराना गहना बेचेर त्यसमा थपथाप गरी नयाँ सामान किनेर लाने गरेको उनले बताए।
चालु आर्थिक वर्षमा सुनको मूल्य बढ्दा आयातमा समेत उल्लेख्य कमी आएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को आठ महिनामा १४ अर्ब ३७ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको १ हजार १ सय ८८ केजी सुन आयात भएको छ। गत वर्ष सोही अवधिमा १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको १ हजार ९ सय १ केजी सुन आयात भएको थियो। सुनको आयात घट्दा सुनबाट प्राप्त हुने राजस्वमा समेत कमी आएको छ। चालु आवको आठ महिनामा सुन आयातबाट १ अर्ब ५८ करोड १० लाख रुपैयाँ राजस्व संकलन भएको छ।