नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १६० खर्ब चार अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ ।
समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत २० खर्ब १३ अर्ब ६० करोड र स्थायी निक्षेप सुविधामार्फत १३९ खर्ब ९० अर्ब ५५ करोड रुपैयाँ प्रशोचन गरिएको राष्ट्र बैङ्कले जनाएको छ । यस अवधिमा दुई अर्ब ७० करोड रुपैयाँ बराबरको ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पाँच खर्ब ९७ अर्ब २४ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो । यस वर्ष राष्ट्र बैङ्कले विदेशी विनिमय बजारबाट तीन अर्ब २० करोड अमेरिकी डलर खरिद गरी चार खर्ब ३३ अर्ब ७७ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब ७२ करोड अमेरिकी डलर खरिद गरी चार खर्ब ९४ अर्ब ६२ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा दुई अर्ब ५४ करोड अमेरिकी डलर बिक्री गरी तीन खर्ब ३४५ अर्ब ४८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४६ करोड अमेरिकी डलर बिक्री गरी तीन खर्ब २७ अर्ब चार करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।