आमनागरिकको सन्देश तथा चिठीपत्र घरघरमा पुर्याउँदै आएको हुलाक सेवाले पछिल्लो समय राहदानी, सवारीचालक अनुमतिपत्र तथा शैक्षिक प्रमाणपत्रसमेत घरदैलोमा पुर्याउने सेवा विस्तार गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको उच्च प्राथमिकतामा रहेको हुलाक सेवाले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नयाँ सेवाहरू सञ्चालनमा ल्याएको हो।
हुलाक सेवा विभागका निर्देशक तथा सूचना अधिकारी जमुना मिश्रका अनुसार पहिलो चरणमा ६२ जिल्लाका नागरिकको घरमै राहदानी पुर्याउने व्यवस्था गरिएको छ। यसअघि ३३ जिल्लामा सीमित रहेको सेवा हाल ६२ जिल्लासम्म विस्तार भइसकेको छ भने आगामी दिनमा देशका सबै ७७ जिल्लामा राहदानी वितरण सेवा विस्तार गर्ने तयारी भइरहेको छ।
उहाँका अनुसार नागरिकले ५५ रुपैयाँ शुल्क तिरेर घरमै राहदानी प्राप्त गर्न सक्नेछन्। विभागको तथ्याङ्कअनुसार हालसम्म जिल्ला प्रशासन कार्यालयमा पुगेका ५३ हजार ३३५ राहदानीमध्ये २ हजार ७७५ राहदानी घरदैलोमै वितरण गरिएको छ।
त्यसैगरी, हुलाक सेवाले छ जिल्लाका ६८७ सेवाग्राहीलाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै पुर्याइसकेको छ। निर्देशक मिश्रका अनुसार लाइसेन्स वितरण सेवा हाल प्रारम्भिक चरणमा रहेको र बिस्तारै सबै जिल्लामा विस्तार गरिने योजना रहेको छ। एक जनाको लाइसेन्स घरमै पुर्याउन करिब ४० रुपैयाँ खर्च हुने विभागको अनुमान छ।
हुलाक सेवाले शैक्षिक प्रमाणपत्र वितरणमा पनि सक्रियता बढाएको छ। हाल Mid-West University अन्तर्गत कर्णाली प्रदेशका विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र घरदैलोमा पुर्याउने कार्य भइरहेको छ। अब Tribhuvan University र Purbanchal University सँग पनि स्नातक, स्नातकोत्तर तथा एमफिल तहका प्रमाणपत्र घरदैलोमा वितरण गर्ने विषयमा छलफल भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार भविष्यमा अन्य विश्वविद्यालयका प्रमाणपत्रका साथै कक्षा १० र १२ का शैक्षिक प्रमाणपत्रसमेत घरदैलोमा पुर्याउने योजना छ। यसबाट विद्यार्थीलाई समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।
यसैबीच, Nepal Telecom सँग सिमकार्ड तथा रिचार्ज कार्ड घरदैलोमा पुर्याउने विषयमा छलफल भए पनि हालसम्म अन्तिम निर्णय हुन सकेको छैन।
हुलाक सेवाले राहदानी, लाइसेन्स र शैक्षिक प्रमाणपत्रबाहेक लालपुर्जा, राष्ट्रिय परिचयपत्रसम्बन्धी कागजात, टेकुस्थित Shukraraj Tropical and Infectious Disease Hospital का प्रयोगशाला रिपोर्ट, बिमा बोर्डका प्रमाणपत्र तथा अन्य सरकारी तथा व्यक्तिगत पत्रहरू समेत सम्बन्धित स्थानमा पुर्याउँदै आएको छ।
त्यसैगरी, हुलाक सेवाले पार्सल सेवा अन्तर्गत स्वदेश तथा विदेशमा हवाई तथा सतहमार्फत सामान ढुवानी गर्ने सेवा पनि सञ्चालन गरिरहेको छ। सामानको तौलअनुसार दुई किलोदेखि २० किलोसम्मका पार्सलमा दुई सय रुपैयाँभन्दा बढी शुल्क लाग्ने गरेको विभागले जनाएको छ।