राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।
अपराह्न ४ बजे सुरु भएको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। बैठकको सुरुआतमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रमको सम्बोधन प्रति हस्तान्तरण गर्नुभएको थियो।
राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट पारित भएको थियो। नेपालको संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत गरिने प्रावधान छ।
संसद् सचिवालयले यसअघि नै संयुक्त बैठकको समय निर्धारण गर्दै सदस्यहरूलाई अपराह्न ४ बजे बैठक बस्ने सूचना दिएको थियो। साथै सबै सांसदलाई ३:४५ बजेसम्म बैठक कक्षमा उपस्थित हुन आग्रह गरिएको थियो।
संसद्को चालु अधिवेशन प्रारम्भ भएकै दिन नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। सचिवालयका अनुसार प्रस्तुत नीति तथा कार्यक्रममाथि वैशाख ३० गते छलफल हुनेछ।
सोही दिन सांसदहरूले उठाएका संशोधन प्रस्तावमाथि टिप्पणी, प्रधानमन्त्रीको जवाफ तथा नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची तय गरिएको छ।
संयुक्त बैठक सम्पन्न भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अलग–अलग रूपमा साँझ ५ बजे पुनः बस्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।