नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुई महत्वपूर्ण विश्व कीर्तिमान कायम भएका छन्। ‘एभरेस्ट म्यान’ का रूपमा परिचित कामिरिता शेर्पा र ‘माउन्टेन क्विन’ लाक्पा शेर्पाले सगरमाथाको सफल आरोहण गर्दै विश्व कीर्तिमान विस्तार गर्नुभएको हो।
पर्यटन विभागका अनुसार कामिरिता शेर्पाले पुरुषतर्फ ३२ औँ पटक सगरमाथा आरोहण गर्दै सबैभन्दा धेरै पटक सर्वोच्च शिखर चढ्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। त्यस्तै लाक्पा शेर्पाले महिलातर्फ ११ औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीतर्फको आफ्नै विश्व कीर्तिमान तोड्नुभएको हो।
विभागका निर्देशक हिमाल गौतमले सगरमाथा आरोहण साहसिक मात्र नभई अत्यन्त जोखिमपूर्ण यात्रा भएको उल्लेख गर्दै यी उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप सम्मानित र गौरवपूर्ण बनाएको बताउनुभयो।
उहाँका अनुसार नेपाली महिला पनि साहसिक तथा चुनौतीपूर्ण क्षेत्रमा विश्वस्तरमै सक्षम रहेको सन्देश लाक्पा शेर्पाको सफलताले दिएको छ। साथै पर्वतारोहण क्षेत्रमा महिलाको सहभागिता, सक्रियता र आत्मविश्वास निरन्तर बढिरहेको पनि उहाँले उल्लेख गर्नुभयो।
पर्यटन विभागका अनुसार कामिरिता शेर्पाले आइतबार बिहान १०:१२ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो भने लाक्पा शेर्पा बिहान ९:३० बजे शिखरमा पुग्नुभएको थियो।
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिनुभएका कामिरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो। त्यसयता उहाँले हरेक वर्षजसो सफल आरोहण गर्दै आफ्नै कीर्तिमान सुधार गर्दै आउनुभएको छ।
त्यस्तै सङ्खुवासभाको मकालु–२ मा सन् १९७३ मा जन्मिनुभएकी लाक्पा शेर्पाले सन् २०२२ मा १० औँ पटक सगरमाथा चढेर महिला विश्व कीर्तिमान बनाउनुभएको थियो। यस वर्ष उहाँले आफ्नै कीर्तिमानलाई ११ औँ आरोहणमार्फत नयाँ उचाइमा पुर्याउनुभएको हो।
महिला आरोहीको सहभागिता बढ्दो
पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथामा पहिलो मानव पाइला परेको ७३ वर्षको अवधिमा ७०४ महिला आरोही शिखरमा पुगिसकेका छन्। पछिल्लो एक दशकमा मात्रै ४२५ महिलाले सगरमाथा आरोहण गरेर साहस प्रदर्शन गरेका छन्।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरे पनि पहिलो महिला आरोही बन्न जापानकी जुन्को ताबेईले सन् १९७५ सम्म पर्खनुपरेको थियो।
पहिलो नेपाली महिला आरोहीका रूपमा पासाङ ल्हामु शेर्पाले सन् १९९३ मा सगरमाथा आरोहण गर्नुभएको थियो। तर शिखरबाट फर्किने क्रममा उहाँको निधन भएको थियो।
विभागको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा महिला आरोहीको सहभागिता उल्लेखनीय रूपमा बढेको छ। सन् २०२४ मा मात्रै ६३ महिला आरोहीले सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्।