१७ जेष्ठ २०८३ , आईतवार

कुशल भुर्तेलको शतकमा चीनमाथि नेपालको २२१ रनको विशाल जित

News
१७ जेष्ठ, काठमाण्डौँ ।

सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गर्दै पहिलो खेलमा चीनमाथि २२१ रनको विशाल जित हासिल गरेको छ।

आइतबार सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै अलआउट भयो। चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए भने डु जियान हाउले १७ र कप्तान टेन सेन कुनले १२ रन जोडे। अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि बलिङमा कुशल मल्लले तीन विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले दुई-दुई विकेट हात पारे भने नन्दन यादवले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा ३१३ रनको विशाल योगफल तयार गरेको थियो।

नेपालको जितमा कुशल भुर्तेल नायक बने। उनले मात्र ४३ बलमा पाँच चौका र १६ छक्काको सहयोगमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले। खेलको नवौँ ओभरमा उनले लगातार छ छक्का प्रहार गर्दै एउटै ओभरमा ३७ रन जोड्न सफल भए।

त्यस्तै कुशल मल्लले ४७ बलमा ८५ रन तथा कप्तान रोहित पौडेलले २१ बलमा अविजित ६९ रन बनाएर नेपालको स्कोरलाई विशाल बनाएका थिए।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोस्रो उच्च स्कोर हो। यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।

प्रतियोगितामा पहिलो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ मलेसिया र चीन पनि रहेका छन्। समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली एसियन गेम्सका लागि छनोट हुनेछन्।