१९ जेष्ठ २०८२ , सोमबार

नेपाल विमा प्राधिकरणले ‘विमा प्रतिबिम्ब’ प्रकाशन सुरु, विमा क्षेत्रका मुख्य तथ्याङ्क समेटिने

News
११ जेष्ठ, काठमाण्डौँ ।

नेपाल विमा  प्राधिकरणले विमा  क्षेत्रका मुख्य मुख्य तथ्याङ्कको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण ‘विमा  प्रतिबिम्ब’ को प्रकाशन सुरु गरेको छ।

विमा कम्पनीको वित्तीय अवस्था, विमा  पहुँच, विमा  दाबी, दाबी फछ्र्यौट,विमालेख संख्या, विमाशुल्क सङ्कलन लगायत विमा  क्षेत्रका प्रमुख सूचकको अध्ययन गरी विश्लेषणात्मक तथ्याङ्क संस्करण मासिकरूपमा प्रकाशन गर्न सुरु गरिएको हो। प्राधिकरणका अध्यक्ष शरद ओझाले विमा  क्षेत्रको पारदर्शिता, जवाफदेहिता तथा नीतिनिर्माणका लागि आधार तयार हुने अपेक्षाका साथ मासिकरूपमा बीमा क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करण प्रकाशन गर्न सुरु गरिएको जानकारी दिए।

अध्यक्ष ओझाले विमा  क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करणबाट विमाक, नीति निर्माता, अनुसन्धानकर्ता र आम नागरिकलाई विमा क्षेत्र सम्बन्धी समग्र जानकारी प्राप्त हुने तथा यसको नियमित प्रकाशनबाट विमा  क्षेत्रमा भएका प्रगति, विद्यमान चुनौती तथा नीतिगत आवश्यकता पहिचान गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे।

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको मासिक तथ्याङ्क संस्करणमा यस अवधिमा जारी भएका विमालेख संख्या, विमाशुल्क सङ्कलन, दाबी भुक्तानी विवरण, समर्पण तथा व्यतित विवरण, विमाकका शाखा कार्यालय तथा कर्मचारी सङ्ख्या, विमाकको लगानी विवरण, कूल विमालेख सङ्ख्या, विमा शुल्क सङ्कलन र सोल्भन्सी अनुपात लगायतका विवरण समावेश छन्।

यसैगरी, चालू आर्थिक वर्षको चैत मसान्तमा नेपाल विमा  प्राधिकरणबाट सम्पादन भएका काम कार्वाहीसहित मुख्य मुख्य उपलब्धीहरू विमा  क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करणमा समावेश गरिएका छन्। जसअनुसार, प्राधकरणबाट नियामकीय काम कारवाही, दाबी उजुरी दर्ता तथा फछ्र्यौट, विमाकहरूको स्थलगत निरिक्षण, सम्पत्ति शुद्धीकरण निवारणका लागि भएका कार्य र विमालेख स्वीकृति लगायतका मुख्य मुख्य विषयहरू विश्लेषणात्मक संस्करणमा समावेश छन्।