नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले एक सूचना जारी गर्दै ग्राहकहरूलाई आफ्नो वित्तीय कारोबारमा सतर्क रहन आग्रह गरेको छ। बैंकले शंकास्पद कारोबार गतिविधि देखिएमा तत्काल खबर गर्न अनुरोध गरेको छ।
राष्ट्र बैंकका अनुसार यदि तपाईंको खाताबाट कुनै अनधिकृत कारोबार भएको थाहा पाउनुभयो भने तत्काल सम्बन्धित बैंक वा वित्तीय संस्थालाई खबर गर्नुहोस्। ग्राहकको समस्या सुन्न र समाधान गर्न बैंक तथा वित्तीय संस्थाहरूले टोल फ्री नम्बर र ग्राहक सहयोग टोलीको व्यवस्था गरेका छन्।
कुनै पनि शंकास्पद कारोबार भएको थाहा पाउनासाथ तत्काल सम्बन्धित नम्बर र निकायमा खबर गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ। साथै, आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरूको आपतकालीन सम्पर्क नम्बरहरू थाहा पाइराख्न पनि सुझाव दिएको छ।
ग्राहकहरूले गुनासो दर्ता गर्न अनलाइन पोर्टल www.gunaso.nrb.org.np मा सम्पर्क गर्न सक्नेछन्। वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१-५७१९६०५ रहेको छ।