१३ बैशाख २०८२ , शनिबार

हराएको 'राजागज' को सम्झनामा बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती पूजा

News
२ बैशाख, काठमाण्डौँ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा जारी ७ दिने वन्यजन्तु सप्ताहको दोस्रो दिन मंगलबार हात्तीसारमा विशेष पूजाआजा सहित हात्ती पूजा सम्पन्न भएको छ। बर्दियामा पाइने एसियाकै सबैभन्दा ठूलो मानिने जङ्गली हात्ती 'राजागज' हराएको सम्झनामा हात्तीसार परिसरको चौरमा निर्माण गरिएको खमारी (हात्ती बाँध्ने खम्बा) स्थलमा विविध कार्यक्रमसहित हात्ती पूजा गरिएको हो ।

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान (सीबीएपीयू)ले हरेक वर्ष हात्तीपूजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सीबीएपीयूका अध्यक्ष हेमन्त आचार्यले युगसूत्रसँग कुरा गर्दै भने,  “पहिले दसैंका बेला हात्ती प्रयोग गरेर सुँगुर कुल्चाउने परम्परा रहेकोमा त्यसलाई अन्त्य गर्दै सकारात्मक सन्देश प्रवाह गर्न हात्ती पूजाको आयोजना गरिएको हो । हिन्दु धार्मिक मान्यता अनुसार हात्तीलाई गणेश भगवानको प्रतिकका रूपमा लिइन्छ, त्यसैले हामीले मंगलबारको दिन पारेर यो पूजा कार्यक्रम राखेका हौं ।" उनले अगाडि भने, "यस पूजाको माध्यमबाट हात्ती र मानवबीचको आत्मीयता बढाउने तथा हात्तीको दिगो संरक्षणमा टेवा पुर्याउने हाम्रो विश्वास छ।"

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम थारुले वन्यजन्तु सप्ताहको अवसरमा यस्ता कार्यक्रमले संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको देखाउने बताए । उनले हात्ती निकुञ्जको अभिन्न अंग भएको र राजागज जस्ता प्रजातिको संरक्षण इतिहासले सबैलाई प्रेरणा दिने उल्लेख गरे ।

पूजा कार्यक्रमले एकातिर हराएको दुर्लभ हात्ती राजागजको स्मरण गराएको छ भने अर्कोतिर निकुञ्जका हात्तीहरूको महत्व र संरक्षणको आवश्यकतालाई उजागर गरेको छ । आयोजकका अनुसार यस्ता कार्यक्रमले वन्यजन्तु र मानवबीचको सहअस्तित्वलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

 

 

 

 

(तस्विरः दिनेश आचार्य/बर्दिया)