पहिरोले घरबारविहीन बनेका खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईको परिवारलाई नयाँ घर बनाइएको छ। पाँच वर्ष पहिले बुबा गुमाएका र आमा शारदा राई शारीरिक तथा मानसिक रूपमा कमजोर भएपछि तीन नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आएको थियो।
गत असार ९ गते भारी वर्षासँगै आएको पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री पुरिएपछि पाँचजनाको परिवार आफन्तकामा आश्रय लिएर बस्दै आएको थियो।
पहिरोपीडित छितिजको परिवारलाई स्थानीयले चन्दा सङ्कलन गरेर निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ। स्थानीय देवानसिं कोयी राईले खाजु भन्ने ठाउँमा निःशुल्क उपलब्ध गराउनुभएको एक रोपनी १३ आना जग्गामा करिब रु नौ लाख खर्चेर निर्माण गरिएको ढुङ्गामाटोको गाह्रो तथा जस्तापाताको छाना भएको दुईतले घर शुक्रबार औपचारिक रुपमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको हो।
देश तथा विदेशमा रहेका आफन्तबाट सङ्कलन गरिएको चन्दा तथा श्रमदानबाट निर्माण गरिएको घर गाउँपालिका प्रमुख समिर राईको उपस्थितिमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको संयोजनकर्ता एवं सूर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक ललितचन्द्र कोयी राईले जानकारी दिए। “पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री पुरेपछि विचल्लीमा परेका छितिजको परिवार आफन्तकामा आश्रय लिएर बसिरहेका थिए । उनीहरुका लागि गाउँपालिका, हङकङ र बेलायतमा सङ्कलन गरिएको चन्दाबाट घर निर्माण गरिदिएका हौँ”, उनले भने, “यो अभियान सफल पार्नका लागि सबैको साथ र सहयोग महत्वपूर्ण रह्यो। अभियानमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद! छितिजको परिवारलाई उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछु।”
पहिरोपीडित छितिजको परिवारका लागि घर निर्माण गर्न कोयी राई समाज खोटाङको संयोजनमा सञ्चालन गरिएको चन्दा सङ्कलन अभियानमा हङकङबाट हितबहादुर कोयी राईको पहलमा रु तीन लाख ५० हजार, बेलायत (युके)बाट कृतबहादुर कोयी राईको पहलमा रु एक लाख ५० हजार र केपिलासगढी गाउँपालिकाले रु एक लाख ५० हजार उपलब्ध गराएको जनाइएको छ। घर निर्माणमा नगद र श्रमदानगरी रु नौ लाख बढी खर्च भएको छितिजको घर निर्माण अभियानमा आर्थिक व्यवस्थापनको जिम्मा लिनुभएका स्थानीयवासी एवं सूर्य माध्यमिक विद्यालय सुङ्देलका शिक्षक भूपिन्द्र कोयी राई (बि)ले जानकारी दिएका छन्।
घर हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले छितिजको परिवारलाई गाउँपालिकाको तर्फबाट उपलब्ध हुने सुविधालाई निरन्तरता दिने स्टाटसमार्फत प्रतिबद्धता जनाएका छन्। “आजदेखि तिमी तिम्रो परिवारसहित आफ्नो घरमा सरेका छौँ । बाँकी जीवन उन्नति, प्रगति र परिवारको जिम्मेवारी समालेर बस्ने छौँ । पूर्णरूपमा विश्वास लिएको छु । तिम्रो साथमा सधैँ स्थानीय सरकार रहने पनि प्रतिबद्धता व्यक्त गर्दछु”, गाउँपालिका प्रमुख राईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “तिमीले सानो उमेरमा बाबा गुमायाँै, आमाको अवस्था कमजोर छ। कलिलो भाइबहिनीको जिम्मेवारी तिम्रो काँधमा छ। आफ्नो विद्यालयको पढाइ, त्यहिबेला प्राकृति प्रकोपले तिमीलाई सतायो। तर, पनि विचलित नभई समस्यासँग पौठेजोरी खेलिरह्यौँ। तिम्रो साहसलाई म सेलुट गर्छु ।”
पहिरोपीडित छितिजको परिवारलाई गाउँपालिकाले घर निर्माणका लागि नगदसँगै खानाको लागि दाल, चामल र पठनपाठनका लागि शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको जनाइएको छ। प्राकृतिक प्रकोपमा परेर पीडित भएका छितिज राईको परिवारलाई सबैको साथ, सहयोग र मायाले पुनः स्थापित हुन सहज भएको सुङ्देलका वडाध्यक्ष तेजकुमार राईले बताएका छन्।