अमेरिकाको विस्कॉन्सिन राज्यका एक १७ वर्षीय किशोरले राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको र त्यसका लागि पैसा जुटाउन आफ्नै आमाबुबाको हत्या गरेको एफबीआईको वारेन्टमा खुलासा भएको छ। यो घटनाले अमेरिकामा सनसनी मच्चाएको छ।
निकिता कासप नामक ती किशोरमाथि आफ्नी आमा तातियाना कासप र सौतेनी बाबु डोनाल्ड मेयरको हत्या गरेको गम्भीर आरोप लगाइएको छ। वौकेशी काउन्टीका अधिकारीहरूका अनुसार, उनले गत फेब्रुअरीमा मिल्वौकी नजिकैको आफ्नो घरमा आफ्नी आमा र सौतेनी बाबुलाई गोली हानी हत्या गरेका थिए। अझ डरलाग्दो कुरा त, उनले हप्तौंसम्म उनीहरूका सड्दै गरेका शवसँगै सोही घरमा बिताएको अभियोग छ।
पछि, उनी घरबाट १४,००० अमेरिकी डलर नगद, पासपोर्ट र परिवारको कुकुर लिएर फरार भएका थिए। अधिकारीहरूका अनुसार, उनलाई गत महिना कन्सास राज्यबाट पक्राउ गरिएको थियो।
एफबीआईको वारेन्टमा उल्लेख भए अनुसार, कासपले ट्रम्पको हत्या गर्ने र अमेरिकी सरकार ढाल्ने योजना बनाएका थिए, र सोही योजना कार्यान्वयन गर्न आवश्यक रकम जुटाउन उनले आफ्ना अभिभावकको हत्या गरेका थिए।
हाल कासपलाई १० लाख अमेरिकी डलर (लगभग १३ करोड नेपाली रुपैयाँ) धरौटी तोकेर वौकेशी काउन्टी जेलमा राखिएको छ। उनलाई अर्को महिना अदालतमा पेश गरिनेछ, जहाँ उनले आफ्नो पक्ष प्रस्तुत गर्नेछन्। एफबीआईले शुक्रबार सार्वजनिक गरेको वारेन्टमा यी आरोपहरूको विस्तृत विवरण उल्लेख गरिएको छ, जसले घटनाको गम्भीरता र किशोरको मनसायबारे थप खुलासा गरेको छ।