निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू आफ्नो नेटवर्कमा बन्द गर्ने भएको छ। कम्पनीले एक 'अत्यन्त जरुरी सूचना' जारी गर्दै उक्त जानकारी दिएको हो।
एनसेलका अनुसार, नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन बमोजिम यो कदम चालिएको हो। प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१ भदौ ९ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ को मन्त्रीस्तरीय निर्णय तथा 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०' लाई आधार मान्दै दर्ता नभएका प्लेटफर्महरू निष्क्रिय गर्न निर्देशन दिएको थियो।
यद्यपि, एनसेलले नेपालमा दर्ता भइसकेका सामाजिक सञ्जाल प्लेटफर्महरू भने आफ्नो डाटा सेवामार्फत निर्बाध रूपमा चलाउन सकिने स्पष्ट पारेको छ। कम्पनीले सूचनामा टिकटक र भाइबर लगायतका प्लेटफर्महरू सञ्चालनमा रहने उल्लेख गरेको छ।
यो निर्णयबाट ग्राहकहरूमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमा मागेको छ। सरकारले सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन निर्देशिका लागू गरेपछि इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकहरूलाई दर्ता नभएका एप तथा वेबसाइटहरू बन्द गर्न निर्देशन दिइरहेको छ। यसअघि अन्य इन्टरनेट सेवा प्रदायकहरूले पनि यस्तै सूचना जारी गरेका थिए।