२६ मंसिर २०८२ , शुक्रबार

स्कोडा कायलाकको उत्साहजनक व्यापार: ८ महिनामै ३० हजार युनिट बिक्री

News
२५ मंसिर, काठमाण्डौँ ।

स्कोडा इन्डियाको नयाँ इन्ट्री–लेभल एसयूभी ‘स्कोडा कायलाक’ ले बजारमा ३० हजार युनिट बिक्रीको कोशेढुंगा पार गरेको छ। सन् २०२४ को डिसेम्बरमा सार्वजनिक भएको यो एसयूभीले छोटो समयमै बलियो बजार हिस्सा ओगटेको हो। कम्पनीका अनुसार सन् २०२५ को जनवरीदेखि अगस्टसम्मको अवधिमा कायलाकको ३० हजार १९० युनिट होलसेल बिक्री भएको छ। यो तथ्यांकले भारतीय ग्राहकबीच स्कोडाको गुणस्तर, विश्वसनीयता र ब्रान्डप्रतिको भरोसा बढ्दै गएको पुष्टि गरेको छ।

हाल स्कोडा इन्डियाको कुल बिक्रीमा कायलाकले ६५ प्रतिशत हिस्सा ओगटेको छ। यो सफलताले बजारमा कम्प्याक्ट र सब–कम्प्याक्ट एसयूभीको माग उच्च रहेको र स्कोडाले ग्राहकको शैली, प्रदर्शन तथा आवश्यकतालाई सही ढंगले सम्बोधन गरेको देखाएको छ।
 

यस्ता छन् विशेषता
स्कोडा कायलाकमा १.० लिटरको टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जुन ६–स्पीड म्यानुअल वा अटोमेटिक गियरबक्समा उपलब्ध छ। यसले ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पादन गर्छ। कम्पनीले यसलाई सहरी क्षेत्र र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त, शक्तिशाली र आरामदायी दाबी गरेको छ।
 

भेरियन्ट र रङहरू
भारतीय बजारमा यो गाडी क्लासिक, सिग्नेचर, सिग्नेचर प्लस र प्रेस्टिज गरी चार मुख्य भेरियन्टमा उपलब्ध छ। हरेक भेरियन्टमा ग्राहकको सुरक्षा, आराम र सुविधालाई ध्यानमा राखिएको छ।
यो एसयूभी ओलिभ गोल्ड, लाभा ब्लु, टोर्नेडो रेड, कार्बन स्टिल, ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट र डीप पर्ल ब्ल्याक गरी ७ आकर्षक रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
आधुनिक डिजाइन, किफायती मूल्य र उच्च इन्जिनियरिङका कारण कायलाकले बजारमा आफ्नो उपस्थिति बलियो बनाएको कम्पनीको भनाइ छ। कायलाकको सफलतासँगै स्कोडा इन्डियाले भविष्यमा पनि ग्राहकको चाहना अनुरुपका उत्कृष्ट र विश्वसनीय मोडेलहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।