राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरेको छ। विद्यालयका शिक्षक कर्मचारीको असहयोगका कारण बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अब परीक्षा वैशाख २१ गते आइतबारदेखि सञ्चालन हुनेछ। शिक्षा ऐन माग गर्दै आन्दोलनमा रहेका सामुदायिक विद्यालयका शिक्षकले परीक्षालाई असहयोग गर्ने बताएपछि बोर्डले मङ्गलबार बिहान बैठक बसेर कर्मचारी परिचालन गरेर भए पनि परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर बोर्डका अध्यक्षलगायतका पदाधिकारीले परीक्षा सञ्चालनसम्बन्धमा मङ्गलबार साँझै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । छलफलक्रममा प्रधानमन्त्री ओलीले अवस्था प्रतिकूल रहेकाले केही दिनका लागि परीक्षा स्थगित गर्न निर्देशन दिएपछि बोर्डले औपचारिक रूपमा परीक्षा सार्ने निर्णय गरेको हो।
परीक्षा स्थगित भएसँगै परीक्षार्थी तथा अभिभावकमा मानसिक तनाव थपिएको छ भने उच्च शिक्षाको वार्षिक तालिका पनि प्रभावित हुने देखिएको छ। बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा मुलुकभरबाट साढे पाँच लाख परीक्षार्थी सहभागी हुँदै छन्। परीक्षाका लागि स्वदेशमा एक हजार ५९० वटा तथा जापानमा एउटा केन्द्र तोकिएको छ।
परीक्षा स्थगित हुँदा दूरगामी असर पर्ने देखिएको छ। समयमै परीक्षा नभएपछि नतिजा प्रकाशनमा ढिलाइ हुने छ। नतिजा प्रकाशन विलम्ब हुँदा विदेशी विश्वविद्यालयले स्नातक तहमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति कोटामा भर्ना हुन समस्या पर्ने छ।
परीक्षा नियन्त्रक शर्माले आन्दोलनरत शिक्षकलाई मूल्याङ्कन गरिदिन अनुरोध गरेका छन् । विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने तथा त्यसमा आफूहरूको पेसागत अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै विद्यालय शिक्षक तथा कर्मचारी चैत २० गतेदेखि काठमाडौँकेन्द्रित आन्दोलनमा छन् ।