आज माघ ९ गते श्रीपञ्चमी, वसन्त पञ्चमीका रूपमा पनि चिनिने पर्व, विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस अवसरमा सरस्वती मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको उल्लेखनीय चहलपहल देखिएको छ।
ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न स्थानका सरस्वती मन्दिरहरूमा भक्तजनहरूको भीड लागेको छ।
आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण कार्यक्रम आयोजना गरिँदैछ। सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने परम्परा छ।
श्रीपञ्चमीलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग जोडिएको मौलिक पर्वका रूपमा मनाइन्छ। वैदिककालदेखि नै आजकै दिन सरस्वती प्रकट भएको अर्थात् सरस्वती जयन्ती मानेर विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने चलन रहँदै आएको छ।
यस दिन बालबालिकाको शिक्षारम्भ गराउने, शिशुको नाक र कान छेडाउने तथा संगीत र कलाको प्रशिक्षण सुरु गर्ने परम्परा पनि रहेको छ। विद्यालयहरूले पनि आज विशेष रूपमा सरस्वती पूजा कार्यक्रम आयोजना गरेका छन्। पुस्तक, वाद्ययन्त्र तथा कला–साधनलाई ज्ञानको प्रतीक मानी सरस्वतीकै स्वरूपमा पूजा गर्ने परम्परा आज पनि निरन्तर रूपमा पालना हुँदै आएको छ।