१३ बैशाख २०८२ , शनिबार

रोल्पामा कुकुरलाई रूखमा झुण्ड्याएर यातना दिई हत्या, दुई पक्राउ

News
७ बैशाख, काठमाण्डौँ ।

रोल्पामा एउटा क्रूर घटना सार्वजनिक भएको छ, जहाँ केही युवाहरूले एउटा कुकुरलाई रूखमा झुण्ड्याएर यातना दिई हत्या गरेका छन्।

यो घटना लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा वैशाख ७ गते भएको हो। सुन्दर परियार नामको टिकटक एकाउन्टमा यो भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको हो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुनलाई पक्राउ गरेको छ। २० वर्षीय सुन्दर परियारको खोजी भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले कुकुरलाई मारेर खोलामा फालेको जानकारी पाइएको छ।

मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि जनावरको क्रूरतापूर्वक हत्या वा कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न पाइँदैन। यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।