१३ बैशाख २०८२ , शनिबार

३० वर्षअघि युवतीलाई मुम्बईको वेश्यालयमा बेच्ने अभियुक्त पक्राउ

News
१२ बैशाख, काठमाण्डौँ ।

मानव बेचबिखन अनुसन्धान ब्युरो (बबरमहल) ले ३० वर्षअघि एक युवतीलाई मुम्बईको वेश्यालयमा बेचेको आरोप लागेका फरार अभियुक्तलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोगेका ६७ वर्षीय चमार तामाङ भन्ने व्यक्तिलाई प्रहरीले वैशाख ११ गते उनकै घरबाट पक्राउ गरेको हो।

ब्युरोका अनुसार तामाङले २०४४ सालमा २६ वर्षीया (परिवर्तित नाम) युवतीलाई काठमाडौंको चाबहिलस्थित गलैंचा कारखानामा काम गर्दा टिबी रोग लाग्ने र हङकङमा सुनको व्यापार गरेर धेरै पैसा कमाउन सकिने भन्दै फकाएर भारत लगेका थिए। उनले युवतीलाई दिल्ली हुँदै मुम्बई पुर्‍याएर रिता तामाङ नाम गरेकी नेपाली महिलाले चलाएको वेश्यालयमा ८० हजार भारतीय रुपैयाँमा बेचेका थिए। युवतीलाई त्यहाँ ७ वर्षसम्म जबरजस्ती वेश्यावृत्तिमा लगाइएको थियो।

टीबी रोग लागेपछि २०५१ सालमा नेपाल फर्किएकी पीडितले २०५२ सालमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जाहेरी दिएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भएर थप अनुसन्धानका लागि २०७७ सालमा ब्युरोमा आएको थियो। ब्युरोले अभियुक्तलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।