१३ बैशाख २०८२ , शनिबार

नेपालमा ३९७ हिउँ चितुवा भएको अनुमान

News
८ बैशाख, काठमाण्डौँ ।

नेपालमा हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक भएको छ। वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा अब हिउँ चितुवाको सङ्ख्या ३९७ पुगेको छ। यसको अर्थ नेपालमा प्रति १०० वर्ग किलोमिटरमा औसतमा १.५६ वटा हिउँ चितुवा पाइन्छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागले विश्व वन्यजन्तु कोष नेपाललगायत विभिन्न संस्थाको सहयोगमा यो मूल्याङ्कन गरेका हुन्। वन्यजन्तु सप्ताहको समापन कार्यक्रममा आइतबार यो तथ्याङ्क सार्वजनिक गरिएको हो। यसले नेपालमा हिउँ चितुवा र तिनीहरूको बासस्थानको अवस्थाबारे महत्त्वपूर्ण जानकारी दिएको छ।

निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले यो तथ्याङ्कलाई नेपालको संरक्षण क्षेत्रमा ऐतिहासिक कदम भएको बताए। उनका अनुसार यसले हिउँ चितुवाको सङ्ख्याको स्पष्ट चित्र देखाउनुका साथै भविष्यमा संरक्षणका योजना बनाउन पनि मद्दत गर्नेछ।

सन् २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्था र अनुसन्धानकर्ताहरूले विभिन्न अध्ययन गरेका थिए। क्यामेरा ट्र्याप र आनुवंशिक विश्लेषण जस्ता आधुनिक प्रविधि प्रयोग गरेर हिउँ चितुवाको वितरण र सङ्ख्याको तथ्याङ्क निकालिएको थियो।

भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले नेपालमा हिउँ चितुवाको धेरै बासस्थान संरक्षित क्षेत्रभन्दा बाहिर रहेकाले त्यहाँ पनि संरक्षणका कार्यक्रमहरू आवश्यक रहेको बताए। समुदायमा आधारित संरक्षण कार्यक्रमलाई सुदृढ पार्नुपर्ने र मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने उपायहरू अपनाउनुपर्ने उनको भनाइ छ।

विश्व वन्यजन्तु कोषका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउने काममा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। सरकारी निकाय, संरक्षण संस्था र स्थानीय समुदाय मिलेर काम गर्दा नै यो सफलता मिलेको उनको भनाइ छ।

अध्ययनले हिउँ चितुवाको संरक्षणका लागि अझ धेरै काम गर्नुपर्ने देखाएको छ। यसका लागि समुदायको सहभागिता बढाउनुपर्ने, द्वन्द्व कम गर्नुपर्ने र संरक्षित क्षेत्र बाहिरको बासस्थानलाई पनि ध्यान दिनुपर्ने बताइएको छ।

एसियाका १२ मुलुकमा हिउँ चितुवा पाइन्छ। तर, ठूला बिरालो प्रजातिमध्ये यसको बारेमा कम अध्ययन भएको छ।