१३ बैशाख २०८२ , शनिबार

शिक्षक महासंघ र सरकारबीच वार्ता सकियो, आन्दोलन जारी रहने

News
१३ बैशाख, काठमाण्डौँ ।

सरकार र नेपाल शिक्षक महासंघबीच आज सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता सकिएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले वार्ता भर्खरै सकिएको र छलफल तथा संवादलाई निरन्तरता दिने सहमति भएको जानकारी दिएका छन्।

यद्यपि, महासंघले आफ्नो आन्दोलन जारी रहने जनाएको छ। अध्यक्ष सुवेदीले भने, ‘शिक्षक महासंघ आन्दोलनमा छ। मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफललाई निरन्तरता दिने सहमति भएको छ। अर्काे बैठक कहिले बस्ने भन्ने तय भएको छैन, छलफलबाटै तय हुनेछ।’

तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू काठमाडौंमा २५ दिनदेखि आन्दोलनरत छन्। शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएका छन्। यसै कारण वैशाख ११ गते हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ गतेका लागि सारिएको छ।