रौतहट जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूले गरेको जाँचका क्रममा लाखौं रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद भएको छ। प्रहरीले ३ वटा मोटरसाइकल र ४ वटा साइकलसहित उक्त सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता, इन्स्पेक्टर उमाशंकर प्रसादका अनुसार सीमावर्ती भारतीय बजारबाट भित्र्याइँदै गरेको ३ लाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना र कस्मेटिक्सका सामग्री गस्ती टोलीले बरामद गरेको हो।
बरामद गरिएका सामान र सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ। रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालित तस्करी नियन्त्रण अभियानले जिल्लामा अवैध सामानको तस्करी हुने गरेको देखाएको छ।