काठमाडौं, ३१ चैत जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीमा ६० लाख रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । जग्गा बैना गर्ने बहानामा बोलाएर एक व्यक्तिको रकम लुटिएको घटनामा संलग्न उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यही चैत २७ गते राति करिब ८ बजे काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ४२ वर्षीय रितेश लामालाई 'नवराज खनाल' नाम बताउने व्यक्तिले जग्गा बैना गर्ने भन्दै काठमाडौं महानगरपालिका-३२, मनहरा प्लानिङमा बोलाएका थिए । लामा बागमती प्रदेश ०१-०२९ च ३२७२ नम्बरको आफ्नो कारमा उक्त स्थानतर्फ जाँदै गर्दा मनहरा टाउन प्लानिङस्थित नेपाल तारा स्कुल नजिकै सडक खण्डमा अपरिचित व्यक्तिहरुको समूहले उनको कार रोकी नगद रु. ६० लाख लुटेर फरार भएका थिए ।
घटनाको सूचना प्राप्त हुनासाथ तत्काल परिचालन भएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा लुटपाटमा संलग्नता देखिएका १८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा काठमाडौं, रामेछाप, सोलुखुम्बु, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका २० देखि ३७ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् । उनीहरुलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको एसपी बोहराले बताए ।
प्रहरीले उनीहरुको साथबाट लुटिएको मध्ये नगद रु. ३० लाख १ हजार रुपैयाँ बरामद गरेको छ । साथै, घटनामा प्रयोग भएको हुन सक्ने तीन वटा दुई पाङ्ग्रे सवारी साधन (दुई स्कुटर र एक मोटरसाइकल) पनि बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको परिसरले जानकारी दिएको छ ।