१४ बैशाख २०८२ , आईतवार

काठमाडौंमा शिक्षकहरूको आन्दोलन: प्रदर्शनका क्रममा शिक्षकले शिक्षकमाथि कुटपिट

News
१३ बैशाख, काठमाण्डौँ ।

काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा आज एकजना शिक्षक कुटिएका छन्। काठमाडौं महानगरपालिका-१०, बिजुलीबजारमा भएको प्रदर्शनमा कैलालीका केशवराज जोशीमाथि शिक्षकहरूले नै कुटपिट गरेका हुन्।

प्रहरीका अनुसार आपसी विवादका कारण १५-२० जनाको समूहले जोशीलाई कुटपिट गरी घाइते बनाएका हुन्। जोशी कैलालीको धनगढीस्थित दुर्गा आधारभूत माध्यमित विद्यालयमा कार्यरत शिक्षक हुन् र उनी शिक्षक महासंघको आन्दोलनमा सहभागी हुन काठमाडौं आएका थिए।

काठमाडौं प्रहरी परिसरका एसपी अपील राज बोहराले घाइते जोशीलाई तत्कालै मिनभवनस्थित सिभिल अस्पताल पुर्‍याइएको जानकारी दिएका छन्। जोशीको अवस्था सामान्य रहेको र उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।