१३ बैशाख २०८२ , शनिबार

काठमाडौं टावर नक्सापास प्रकरण: अर्बौंको चलखेलको आशंका, नीतिगत भ्रष्टाचार भएको मेयर बालेनको दाबी

News
११ बैशाख, काठमाण्डौँ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रकरणमा गम्भीर अनियमितता भएको खुलासा गरेका छन्। फेसबुकमार्फत लामो स्टाटस लेख्दै उनले यस विषयमा नीतिगत भ्रष्टाचार भएको र अर्बौंको चलखेलको आशंका रहेको दाबी गरेका हुन्।

मेयर शाहले काठमाडौं टावरमा महानगरको ठूलो लगानी रहेको तर तत्कालीन नेतृत्वले न्यून आर्थिक लाभ हुने गरी सम्झौता गरेको बताएका छन्। १२ तलासम्मको स्वीकृति दिँदा महानगरले वार्षिक रूपमा प्राप्त गर्ने रकम ज्यादै कम भएको र १९ तला बनाउँदा थपिने तलाको भाडाबाट आउने अर्बौं रुपैयाँ गुम्ने खतरा रहेको उनको भनाइ छ।

उनले यस प्रकरणमा नीतिगत रूपमा नै चलखेल भएको, कर्मचारीहरू परिचालन भएको र जनप्रतिनिधिहरू समेत प्रभावित भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

मेयर शाहले भवन निर्माणको मापदण्ड र नेपाल सरकारको निर्माण संहिताअनुसार सबै कुरा नमिल्ने भए १२ तलालाई बढाएर १९ तला बनाउन नसकिने बताएका छन्। यसका लागि सम्झौता पुनरावलोकन हुनुपर्ने, आर्थिक विश्लेषण गरी सम्झौता रकम समायोजन गर्नुपर्ने, वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन हुनुपर्ने उनको भनाइ छ।

उनले आफू Structural Engineer भएकाले Seismic Design Structural Analysis गर्दा NBC 105:2020 Standard मा १९ तला निर्माण गर्दा अध्ययनले ७०% भन्दा धेरै Column fail हुने बताए। साथै, EBPS प्रणालीमा उक्त नक्सापास अहिले पनि नभएको उनले जानकारी दिए।

मेयर शाहले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया नपुगेको भन्दै नक्सापास गर्न नसकिने बताए पनि सरोज गुरागाईं हाजिर भएको दोस्रो दिनमै आधिकारिक प्रणाली प्रयोग नगरी नक्सा पास गरिदिएको आरोप लगाएका छन्।

उनले यस विषयमा छानबिन समितिले प्रतिवेदन नबुझाएको वा बुझाउन नदिएको र विभागीय प्रमुखहरूले अध्ययन गरी नक्सापास गर्न नसकिने राय दिएको पनि उल्लेख गरेका छन्। मेयर शाहले सरोज गुरागाईंलाई संघीय सरकारले विशेष mandate दिएर पठाएको हो कि भन्ने प्रश्न समेत उठाएका छन्। उनले महानगरको आधिकारिक EBPS प्रणालीमा स्वीकृत नभएको कागजलाई नक्सापास नमानिने बताएका छन्।

अन्तमा, मेयर शाहले सो भवनको नक्सापास प्रक्रियामा धेरै गम्भीर त्रुटिहरू भेटिएको, महानगरलाई आर्थिक क्षति पुर्याई केही सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको र विभिन्न प्रमाणहरू महानगरमा सुरक्षित रहेको जानकारी दिएका छन्। उनले अनियमितता देखेमा सूचना दिन आग्रह गर्दै गल्ती गर्ने कसैलाई पनि छुट नहुने बताएका छन्।