काठमाडौं । डडेलधुराको परशुराम नगरपालिकाले कक्षा ११ का विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ । नयाँ वर्षको अवसरमा सोमबार नगरपालिकाका प्रमुख भरत बडायर जोशीले विद्यार्थीलाई पढ्न प्रेरित गर्ने उद्देश्यले कक्षा ११/१२ का विद्यार्थीलाई निःशुल्क पढाउने घोषणा गरेका हुन् ।
“ यस वर्ष पशुराम नगरपालिकाले कक्षा ११ मा अध्ययनत सम्पूर्ण विद्यार्थीहरुलाई निशुल्क रुपमा पढ्न पाउने व्यवस्था मिलाएका छौ र उहाँहरुले अब नगरपालिका मार्फतका कुनै पनि विद्यालयहरूमा कुनै पनि फिस तिर्नु पर्दैन र क्रमश अर्को वर्ष निशुल्क रुपमा पढ्न पाउने व्यवस्था कक्षा १२ सम्म कार्यान्वयन गरिनेछ,” नगरप्रमुख जोशीले युगसूत्रसँग कुरा गर्दै भने, “यो विद्यार्थीलाई अध्ययन अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको अभियान हो ।”
नगरप्रमुख जोशीका अनुसार यस वर्ष नगरपालिका मातहतमा कक्षा ११ अध्ययन गरिरहेका विद्यार्थीलाई नै यो सुविधा दिइएको छ । “यसअघि फि बुझाइसकेका विद्यार्थी छन् भने पनि विद्यालयले छात्रवृत्तिका रूपमा उक्त रकम फिर्ता गर्छ,” नगरप्रमुख जोशीले थपे । हाल उक्त नगरपालिका मातहतमा सात ओटा विद्यालयमा यो सुविधा दिइएको छ । ती विद्यालयमा विज्ञान, व्यवस्थापन, आर्ट्स, मानविकी लगायतका सङ्कायमा पढाइ हुने गरेको छ । त्यस्तै प्लस टुमा प्राविधिकमा कृषि, जेटीए र ओभरसियर पढ्दा पनि विद्यार्थीले शुल्क तिर्नु पर्ने छैन ।
यो व्यवस्था नगरपालिका आफैले मिलाएको नगरप्रमुख जोशीले जानकारी दिए । “हामीले चैत मसान्तमै यो निर्णय गरेका थियौं । अहिले नै कार्यान्वयन गरेका छौं । उहाँहरूको फि बराबरको मूल्य हामी कलेजलाई उपलब्ध गराउँछौं । कलेजले विद्यार्थीलाई निःशुल्क पढाउँछ,” नगरप्रमुख जोशीले थपे ।
हाल कक्षा ११ मा पढ्ने विद्यार्थी आगामी वर्ष कक्षा १२ मा निःशुल्क पढ्न पाउनेछन् । त्यस्तै हाल एसईई दिएका र नयाँ भर्ना हुने सबै विद्यार्थीले यो सुविधा पाउने जोशीले जानकारी दिए । “हाम्रो नगरपालिकामा कमजोर आयस्तर भएका विद्यार्थी छन् । आयस्तर कम भएकाले फि तिर्नै मुस्किल भएर पढ्न नपाएकाले छोडेको अवस्था छ । त्यो अवस्था आउन नदिन हामीले यस्तो व्यवस्था गरेका हौं,” जोशीले थपे, “कक्षा ११/१२ मा फि महँगो भयो भन्ने गुनासो हुन्थ्यो । हाम्रो प्रतिवद्धता पनि कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने थियो । त्यही अनुसार हामीले निःशुल्क बनाएका हौं । आर्थिक अभावले पढ्न नछोडुन् भन्ने नै लक्ष्य हो ।”
यो अभियानले अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्ने र बीचमै पढ्न छोड्ने विद्यार्थीको सङ्ख्या घटाउन मद्दत पुग्ने नगरप्रमुख जोशीको अपेक्षा छ । “ड्रपआउट रेट पनि घट्छ । बाहिरका जिल्लाहरूमा गएर पढ्ने विद्यार्थी पनि छन् । उनीहरू पनि आफ्नै नगरपालिकामा पढ्न प्रेरित हुन्छन् । शैक्षिक गुणस्तर पनि बढ्छ,” उनले थपे ।
उनले भने, “हामीले यसअघि पनि छोरी बुहारीलाई पढ्ने वातावरण मिलोस् भनेर छात्रवृत्तिको अवसर ल्याएका थियौं । त्यसले पनि प्रभावकारी रूपमा काम गरेको छ । अब भने सबैले निःशुल्क कक्षा १२ सम्म पढ्न पाउँछन् ।” त्यस्तै प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई पनि नगरपालिकाले छात्रवृत्ति दिंदै आएको नगरप्रमुख जोशीले सुनाए । नगरपालिकाले प्राविधिक विषय पढ्ने विद्यार्थीलाई बिना ब्याज पाँच लाख रुपैयाँसम्म ऋण पनि उपलब्ध गराउने गरेको उनको भनाइ छ । “हामीले ३० जना विद्यार्थीलाई बिना ब्याज प्राविधिक विषय पढाउन ऋण उपलब्ध गराइसकेका छौं,” उनले थपे, “विद्यार्थीको फि र एप्लिकेसनको आधारमा ऋण उपलब्ध गराउँछौं ।”