२१ माघ २०८२ , बुधबार

प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगद्वारा मतपत्रको नमूना सार्वजनिक

News
१७ माघ, काठमाण्डौँ ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रअनुसारका मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशका निर्वाचन क्षेत्र समेटेर नमूना मतपत्र सार्वजनिक गरेको हो।

आयोगका अनुसार एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक–फरक मतपत्रको नमूना तयार गरिएको छ। यी नमूना मतपत्रहरू मतदाता शिक्षाका लागि प्रयोग गरिने छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना फरक–फरक आकारमा तयार पारिएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा तुलनात्मक रूपमा ठुलो आकारको मतपत्र र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र छापिएको छ।

कर्णाली प्रदेशमा एउटा मात्र निर्वाचन क्षेत्र रहेका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिमका साथै दुई निर्वाचन क्षेत्र रहेका दैलेख र सुर्खेतका लागि पनि मतपत्रको नमूना सार्वजनिक गरिएको छ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम रहेको छ भने अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। ती सबै निर्वाचन क्षेत्रका मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग हुने मतपत्रको छपाइ कार्य भने सम्पन्न भइसकेको छ।