आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक हुँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहे पनि नेपालले लक्ष्य भेट्टाउन सकेन।
लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले छैटौँ ओभरमै कुशल भुर्तेललाई पनि गुमायो। भुर्तेलले १७ बलमा चार चौका र एक छक्काको मद्दतमा २९ रन जोड्नुभयो। दुवै ओपनर आउट हुँदा नेपालको स्कोर ४२–२ थियो।
त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गर्नुभयो। उक्त साझेदारीले केही समय इंग्ल्यान्डलाई दबाबमा राखेको थियो।
तर १५औँ ओभरमा दीपेन्द्रसिंह ऐरी साम करनको बलमा आउट भएपछि नेपालको तेस्रो विकेट पतन भयो। ऐरीले २९ बलमा छ चौका र एक छक्कासहित ४४ रन बनाउनुभयो। सो क्रममा उहाँ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि बन्नुभयो।
लगत्तै कप्तान रोहित पौडेल ३९ रनमा आउट हुनुभयो। उहाँले ३४ बलमा दुई चौका र एक छक्का प्रहार गर्नुभयो। आरिफ शेखले आठ बलमा १० रन बनाए।
बलिङतर्फ इंग्ल्यान्डका लियम डसनले दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा चार चौका र तीन छक्कासहित ५३ रन जोडे। विल ज्याक्सले १८ बलमा एक चौका र चार छक्कासहित अविजित ३९ रन बनाए।
ओपनर फिल साल्टलाई नेपालका डेब्युटान्ट शेर मल्लले पहिलो बलमै आउट गर्दै इंग्ल्यान्डलाई सुरुआती झड्का दिएका थिए। ५७–३ को कठिन अवस्थामा बेथेल र ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए।
नेपालका लागि बलिङमा दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट हात पार्नुभयो।