सुमनाले किन दिइन् रास्वपा सँग महामन्त्रीबाट राजीनामा ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको सह-महामन्त्री पदबाट राजीनामा दिएकी छन्। उनले चैत्र १७ गते नै सभापति रवि लामिछाने पार्टी काममा फर्किएकै दिन राजीनामा बुझाएकी थिइन्। तर रवि सहकारी प्रकरणमा जेल चलान भएको डेढ सातापछि राजीनामा प्रकरण बाहिरिएको हो। देशको चौथो ठूलो दलको महत्वपूर्ण पद त्याग गर्दा अनावश्यक चर्चा नहोस् भन्दै उनले राजीनामा गर्नुका पछाडिका कारण पनि खुलाएकी छन्।
उनले पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिनुका तीन मुख्य कारणहरू उल्लेख गरेकी छन्। पहिलो कारणका रुपमा उनले ‘एक व्यक्ति एक पद’को एजेन्डालाई अघि सारेकी छन्। दोस्रो कारणका रुपमा उनले ‘पार्टीमाथि जनताको ठूलो आश, तर डेलिभरि दिने क्षमता शून्य’लाई उल्लेख गरेकी छन्। त्यसैगरी, तेस्रो कारणका रुपमा सुमनाले पार्टीभित्रको ‘धेरै कर्मकाण्डी प्रक्रिया’मा असन्तुष्टि जनाएकी छन्।
प्रतिनिधिसभाकी सांसद सुमनाले पदको लोभ नेपालका पुराना पार्टी र नेपाली समाजमै गढेको एक प्रथाका रुपमा रहेको बुझाइ व्यक्त गरेकी छन्। संघीय सांसद हुँदा पार्टीको अर्को महत्वपूर्ण जिम्मेवारी लिँदा पद भई केही गर्न सकिन्न भन्ने सन्देश जाने र यो कुरासँग आफ्नो गहिरो विमति रहेको उनले बताएकी छन्। अन्य पार्टीभन्दा रास्वपा भिन्न हुनुपर्ने तर रवैया उस्तै रहेमा त्यो स्वीकार्य नहुने उनको भनाइ छ।
उनले एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न नसक्ने निष्कर्ष निकालेकी छन्। संघीय सांसदले मूलभूत रुपमा पेश भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालासँग छलफल गर्ने, आवश्यक संशोधन पेश गर्ने, समसामियक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरू स्थापित गर्नुपर्ने हुन्छ भन्ने उनको धारणा छ। यसबाहेक शिक्षा सूचना प्रविधि संसदीय समितिको भूमिका पनि महत्वपूर्ण रहेको उनले औंल्याएकी छन् । सह-महामन्त्रीका रूपमा पार्टी संगठन निर्माण लगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव नभएको उनको तर्क छ।
सुमनाले पार्टी सहमहामन्त्री र सांसद पद दुवै पूर्णकालीन पद भएकाले समय व्यवस्थापन मुस्किल हुने बताएकी छन्। यी दुवै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुवैतर्फको जिम्मेवारी पूरा गर्न नसकिने उनको अनुभव छ। संसदीय भूमिकामै आफ्नो सम्पूर्ण समय व्यतित हुने र सह-महामन्त्रीले गर्नुपर्ने काम प्रभावकारी हुन नसकेको उनको ठम्याइ छ।
उनले पार्टीमाथि जनताको ठूलो आशा रहे पनि नतिजा दिने क्षमता शून्य रहेको बताएकी छन्। नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिलेको र त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर ठूलो आशा राखेको उनले उल्लेख गरेकी छन्। तर, दलको प्रस्तुति सोचेजस्तो सशक्त नभएको गुनासो रहेको र पुराना दलले लगाएको सहकारी ठगीको लेबल चिर्न प्रतिशोध साँधेको नारा मात्र अघि बढाएको उनको भनाइ छ। पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरूलाई सामान्य तथ्याङ्क संकलनको काम दिँदा पनि कसैले केही नगरेको स्पष्ट भएको र पार्टी बन्नका लागि र डेलिभरी दिन कति लामो यात्रा तय गर्नुपर्ने छ भन्ने कुरा एकै व्यक्तिलाई धेरै जिम्मेवारी दिनुको परिणाम भएको उनले बताएकी छन्।
सुमनाले पार्टी धेरै नै कर्मकाण्डी बन्दै गएको बताएकी छन्। पार्टी बैठकमा पदाधिकारीहरूलाई चाहिनेभन्दा धेरै महत्व दिने गरेकोमा पनि उनले असहमति जनाएकी छन्। बैठकमा बस्ने क्रम, बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिने भन्दा बढी महत्व दिइने र यस्तो संस्कारले नयाँ कुराको विकास नहुने र काम गर्ने जाँगरलाई हतोत्साहित गर्ने उनले उल्लेख गरेकी छन्। वैकल्पिक राजनैतिक दलका रुपमा स्थापित हुन खोजेको पार्टीमा पदानुक्रम सबैभन्दा प्रभावकारी हुने उनको धारणा छ, जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ, जहाँ उमेर वा ओहोदामा ठूलो सानो हेरी सबैको विचारलाई उत्तिकै महत्व दिएर मनन गरिन्छ।
उनले पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय हुँदा पदाधिकारी भएर समेत पार्टीसम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारिक श्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएको गुनासो गरेकी छन्। पद दिएर पनि कुनै वजन नभएको महसुस गरेको, कयौं पटक विभिन्न बैठक बसौं भन्दासमेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरुद्ध गरौँ भन्दा पनि नसुनिनेसमेत अवस्था देखेको उनले बताइन्। यसकारण यस्तो महत्त्वपूर्ण पद यसरी हलुका नबनाइदिनुहुन पनि उनले आग्रह गरेकी छन्।
उनले पार्टीले आफूमाथि ठूलो आशा गरी दिएको पद त्याग गर्नुलाई हल्का रुपमा नलिएको बताएकी छन् र यसले उब्जाउने थप केही प्रश्नको पनि अग्रिम उत्तर दिएर स्पष्ट पार्न चाहेको बताएकी छन्।