राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा फेरि एकपटक हलचल मच्चिएको छ। पार्टीका सह-महामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन्। रवि लामिछाने पुनः पार्टीमा फर्किएकै दिन श्रेष्ठले राजीनामा बुझाएको रास्वपा सभापति लामिछाने निकट स्रोतले जानकारी दिएको छ।
"उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो," रास्वपाका एक नेताले भने, "पहिले नै राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो तर रवि दाइ हिरासतमा रहेकाले नदिएको भनेर उहाँले हामीसँगको कुराकानीमा भन्नुभएको छ।"
यद्यपि, श्रेष्ठले यस विषयमा तत्काल कुनै धारणा सार्वजनिक गरेकी छैनन्। उनले केन्द्रीय समितिको बैठकमा आफ्ना कुरा राख्ने बताएकी छन्।
रास्वपाले आजका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ। स्रोतका अनुसार, श्रेष्ठले एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा राखेकी छिन्।
स्रोतका अनुसार, श्रेष्ठले आफू संसदमा केन्द्रित रहनुपर्ने भएकाले पार्टीको सह-महामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने धारणा राखेकी छिन्।
"पुस्तान्तरणका लागि गर्नुपर्ने कुरा के हो भन्ने कुनै पनि पार्टीमा देखिएन," श्रेष्ठ निकट स्रोतले भन्यो, "पदमा जहिले पनि टाँसिएर बस्नुको औचित्य छैन। बोली र व्यवहारमा एकरुपता ल्याउनैपर्छ भनेर उहाँले राजीनामा दिनुभएको हो।"