आज अप्रिल १८, विश्व सम्पदा दिवस! सम्पदाको महत्व बुझाउन र यसको संरक्षणमा सबैलाई जागरुक गराउन यो दिन मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (UNESCO) ले विश्वभरिका सम्पदा क्षेत्रको सुरक्षा गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालेको हो। अहिले नेपालका काठमाडौँ उपत्यका [वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू], लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज जस्ता ठाउँहरू विश्व सम्पदा सूचीमा रहेका छन्।
आज पुरातत्व विभागले काठमाडौँमा सम्पदा पदयात्राको आयोजना गरेको छ। विभागका अनुसार, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ र बागमती प्रदेश हस्तकला सङ्घ मिलेर यो पदयात्रा आयोजना गरिएको हो। विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले दिएको जानकारी अनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा हुने यो पदयात्रामा संस्कृति क्षेत्रका व्यक्तित्व र संस्थाहरूको पनि सहभागिता रहनेछ। स्वयम्भूको भुइँखेलबाट सुरु भएर हनुमानढोका दरबार क्षेत्रमा पुगेर पदयात्रा टुङ्गिनेछ।
सम्पदा प्रभाव मूल्याङ्कन अब अनिवार्य
अब सम्पदा क्षेत्र नजिकै कुनै पनि संरचना बनाउनु अघि त्यसले पार्ने असरको मूल्याङ्कन गर्नुपर्नेछ। पहिला ठूला योजना बनाउँदा वातावरणमा पर्ने असर हेरिन्थ्यो, तर अब सम्पदामा पर्ने असर पनि जाँच्नुपर्ने हुन्छ।
सम्पदा क्षेत्रमा संरचना बनाउँदा क्षति हुन थालेपछि सरकारले यो नियम ल्याएको हो। पुरातत्व विभागले दुई वर्षअघि नै यसको कार्यविधि बनाएको थियो। महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार, नेपालमा सम्पदा प्रभाव मूल्याङ्कनको सरकारी तालिम पहिलो पटक गत वर्ष दिइएको थियो, र तालिम लिएकाहरूले मूल्याङ्कनको काम थालिसकेका छन्।
विभागले पुरानो स्मारक संरक्षण ऐन, २०१३ लाई संशोधन गर्ने क्रममा पनि यो विषयलाई समेटेको छ। ऐन संशोधनमा समय लाग्ने भएकाले मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गराई काम थालिएको हो। कार्यविधि अनुसार, अब सम्पदा क्षेत्रमा संरचना बनाउँदा सम्पदा प्रभाव मूल्याङ्कनको रिपोर्ट बुझाउनुपर्नेछ।