इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन् । गर्मी मौसममा उनको मासिक रु ९० हजारसम्म आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक रु ४० हजार बचत हुने गरेको उनले बताए ।
गौतम सात वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा काम गरेर स्वदेश फर्केपछि यो व्यवसाय सुरु गरेका हुन् । उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै सबै घरखर्च पुगेको भन्दै उनले विदेशमा तातो घाममा दुःख गर्नुभन्दा स्वदेशमै सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुने बताए । उनले सुरुमा टेम्पो चलाए पनि आम्दानी नभएपछि रु ७० हजारमा जुस बनाउने उपकरण किनेर व्यवसाय सुरु गरेका हुन् ।
गौतमले भने, “उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै सबै घरखर्च पुगेको छ । विदेशमा तातो घाममा दुःख गर्नुभन्दा स्वदेशमै सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ ।” उनले सुरुमा टेम्पो चलाए पनि आम्दानी नभएपछि रु ७० हजारमा जुस बनाउने उपकरण किनेर व्यवसाय सुरु गरेको बताए ।
गौतमजस्तै धरान उपमहानगरपालिका–५ का दीपक श्रेष्ठले पनि कतार र इरानमा १४ वर्ष काम गरेर फर्केपछि धरानका गल्लीगल्लीमा उखुको जुस बेच्न थालेका छन् । यो पेसाबाट जीविकोपार्जन भइरहेको उनले बताए। सानो लगानी भए पनि जुसका लागि उखु खरिद, उपकरण, बजारको प्रतिस्पर्धी वातावरणसँग जुध्नुपर्ने भएकाले सुरुआतमा चुनौतीपूर्ण रहेको उनको अनुभव छ ।
श्रेष्ठले आफ्नो जुस व्यवसायलाई व्यापारका रूपमा मात्र नलिएर स्वास्थ्य र वातावरणका लागि प्रभावकारी विकल्पका रूपमा लिएको बताए। प्रतिगिलास रु ५० मा जुस बिक्री हुने गरेको छ ।
जाडो मौसममा अरुको घरमा काम गरे पनि गर्मीको समयमा उखुको जुसको व्यवसायले जीविकोपार्जन हुने गरेको इटहरी–२० का अमिर खड्काले बताए।
गर्मीको समय सुरु भएसँगै धरान, इटहरीलगायत बजार क्षेत्रमा उखुको जुस बिक्री गर्ने सयौँ व्यवसायी छन् । कम लगानीमा मनग्ये आम्दानी हुने भएकाले यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको छ ।