१३ बैशाख २०८२ , शनिबार

गर्मीयाममा लू (Heat Stroke) बाट कसरी बच्ने?

News
१३ बैशाख, काठमाण्डौँ ।

गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गर्छ, जसलाई ‘लू’ भनिन्छ। यो समयमा तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्छ। सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ।


मानव शरीरको संरचना अनौठो हुन्छ। बाहिरको तापक्रम जतिसुकै परिवर्तित भए पनि शरीर भित्रको तापक्रम सधैं ३७ डिग्री सेल्सियस नै भइरहन्छ। गर्मीमा चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई अत्यधिक तातो बनाइदिन्छ, जसका कारण हामी ‘लू’को चपेटामा आउँछौं। अत्यधिक गर्मीका कारण रक्तनलीहरू फराकिलो हुन्छन्। यसले गर्दा रक्तसञ्चार प्रक्रिया बढ्छ र शरीरभित्रको पानी पसिनाको रूपमा बाहिर निस्कन्छ। शरीरमा नुन र पानीको कमी हुनु ‘लू’ लाग्नुको प्रमुख कारण हो।
‘लू’का लक्षणहरू:
- बारम्बार प्यास लागिरहनु
- अनुहार रातो हुनु, टाउको दुख्नु, दिगमिग हुनु र बान्ता हुनु
- अत्याधिक तापक्रमका कारण बेहोस हुनु
- नाडीको गति धेरै बढ्नुका कारण बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुनु
- बिरामीमा छटपटी र उदासीनताको भाव देखिनु
‘लू’ लागेमा के गर्ने?
‘लू’को प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो। ‘लू’बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको ठाउँमा सुताउनुपर्छ। ‘लू’ लागेको बिरामीले घोल (नुन, चिनी, कागती र पानी) समय–समयमा पिइरहनुपर्छ। स्पञ्जलाई पानीमा भिजाएर बिरामीको निधार, हात, खुट्टामा दल्नुपर्छ र निधारमा बरफको पट्टी राख्नुपर्छ।
‘लू’बाट बच्ने उपाय:
- काँक्रोको सेवन गर्ने
- बेल, आँप, कागतीको सर्बतको सेवन गर्ने
- गर्मीको मौसममा टाउको, खुट्टा तथा हातहरूमा मेहन्दी लगाउने
- घाममा खाली पेट ननिस्कने
- सकेसम्म धेरैभन्दा धेरै पानी पिउने
- घाममा धेरै ननिस्कने, निस्कनै परे शरीरलाई पूरै ढाकेर निस्कने
के खाने, के नखाने?
कागती पानी प्रचुर मात्रामा खाने, साँझको बेला तारिएका खानेकुराहरू तथा चिल्लो-पिरो खानेकुरा खानु हुँदैन। मदिरापान नगर्ने, भोजनमा प्याज, पुदिना, सलाद तथा काँचो आँपको चाना बढी खाने। एसीबाट सोझै चर्को घाममा नजाने र छालामा क्रिम लगाएर घाममा ननिस्कने। थोरै सावधानी अपनाएर पनि ‘लू’बाट बच्न सकिन्छ।