परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएको बताउँदै कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने धारणा राखेकी छिन्।
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग बिहीबार भएको टेलिफोन कुराकानीलाई धम्की भनी नागरिक पत्रिकामा आएको समाचारको खण्डन गर्दै मन्त्री राणा देउवाले मिडिया पीडितमैत्री हुनुपर्ने आफ्नो बुझाइ रहेको स्पष्ट पारेकी छिन्। प्रेसले कतिपय धारणालाई धम्कीपूर्ण भाषाका रूपमा बुझ्नु दुःखद् भएको उनको भनाइ छ।
"नागरिक दैनिकमा आफ्नो विषयमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु," उनले भनिन्, "हाम्रो परिवारलाई बदनाम गराउने दूषित मनसायसहित सामाजिक सञ्जालमा आएको तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणबारे उहाँसँग कुराकानी भएको हो।"
मन्त्री राणा देउवाले नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेसले गरेको संघर्षलाई कसैले बिर्सन नहुने पनि स्मरण गराएकी छिन्। उनले प्रेस स्वतन्त्रताको सम्मान गर्दै आफ्नो भनाइलाई गलत अर्थ लगाइएकोमा दुःख व्यक्त गरेकी छिन्।