नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज ललितपुर सिटी र पोखरा थन्डर्स एफसी प्रतिस्पर्धा गर्दैछन्। दशरथ रंगशालामा साँझ ६ बजे हुने फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।
साविक विजेता ललितपुर सिटी दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने पोखरा पहिलो पटक फाइनलमा पुगेको हो। पोखराका प्रशिक्षक सुमन श्रेष्ठले राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्। उनले सुरुवाती खेलमा पराजित भए पनि पछिल्ला खेलको लयलाई कायम राखेर उपाधि जित्ने आशा व्यक्त गरे।
पोखराका कप्तान नवयुग श्रेष्ठले ललितपुरविरुद्ध प्रतिस्पर्धात्मक खेल हुने बताए। ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि एक साताको तयारी गर्न पाएको र टोली आत्मविश्वासी रहेको बताए। ललितपुरका कप्तान अनन्त तामाङले पनि फाइनलका लागि राम्रो तयारी गरेको बताएका छन्।