ल्याटिन अमेरिकी साहित्यका विराट प्रतिभा, पेरुका विश्वप्रसिद्ध लेखक तथा सन् २०१० का नोबेल साहित्य पुरस्कार विजेता मारियो भर्गास लोसाको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको निधन पेरुको राजधानी लिमामा परिवारका सदस्यहरूको उपस्थितिमा भएको हो, जसको पुष्टि उनका छोराछोरी अल्भारो, गोन्जालो र मोर्गानाले सामाजिक सञ्जालमार्फत गरेका हुन्। उनको निधनसँगै ल्याटिन अमेरिकी साहित्यको "बूम" पुस्ताका अन्तिम जीवित हस्तीहरूमध्ये एकको अध्याय समाप्त भएको छ।
'द टाइम अफ द हिरो' (La Ciudad y los Perros - सहर र कुकुरहरू), 'कन्भर्सेसन इन द क्याथेड्रल' (गिरजाघरमा संवाद), 'आन्ट जुलिया एन्ड द स्क्रिप्टराइटर' (आन्टी जुलिया र उपन्यास लेखक), र 'फिस्ट अफ द गोट' (बोकाको भोज) जस्ता कालजयी उपन्यासहरूका स्रष्टा भर्गास लोसा आफ्ना कृतिहरूमा शक्ति संरचना, राजनीतिक उथलपुथल, सामाजिक यथार्थवाद, र व्यक्तिको विद्रोह तथा संघर्षको गहन चित्रणका लागि विश्वभर प्रख्यात थिए।
उनले सन् १९५९ मा आफ्नो पहिलो कथा संग्रह 'द कब्स एन्ड अदर स्टोरिज' (Los Jefes - मालिकहरू) प्रकाशित गरे तापनि सन् १९६३ मा प्रकाशित उनको पहिलो उपन्यास 'द टाइम अफ द हिरो' ले उनलाई अन्तर्राष्ट्रिय साहित्यिक मञ्चमा स्थापित गरायो। पेरुको सैन्य एकेडेमीका आफ्नै अनुभवहरूमा आधारित यो उपन्यासले तत्कालीन सैन्य शासनलाई निकै आक्रोशित बनाएको थियो र यसका हजारौं प्रति जलाईएको पनि थियो।
भर्गास लोसा केवल एक उपन्यासकार र निबन्धकार मात्र नभएर एक प्रखर राजनीतिक टिप्पणीकार र सार्वजनिक बौद्धिक व्यक्तित्व पनि थिए। उनी आफ्नो जीवनको प्रारम्भिक चरणमा वामपन्थी विचारधाराबाट प्रभावित भए पनि पछि उदारवादी र बजार-अर्थतन्त्रका समर्थक बने। यही राजनीतिक यात्रा अन्तर्गत उनले सन् १९९० मा पेरुको राष्ट्रपतिको चुनाव समेत लडेका थिए, यद्यपि उनी अल्बर्टो फुजिमोरीसँग पराजित भए।
नोबेल पुरस्कार समितिले उनलाई "शक्ति संरचनाहरूको चित्रण र व्यक्तिको प्रतिरोध, विद्रोह, र पराजयको खरो चित्रण" का लागि सन् २०१० मा साहित्यतर्फको सर्वोच्च सम्मान प्रदान गरेको थियो। असंख्य पुरस्कार र सम्मानबाट विभूषित लोसाको लेखनले ल्याटिन अमेरिकाको जटिल सामाजिक र राजनीतिक परिदृश्यलाई विश्वसामु प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
उनका परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "उहाँको बिदाइले आफन्त, साथीहरू र विश्वभरका पाठकहरूलाई दुःखी तुल्याउनेछ। हामी आशा गर्दछौं, हामीजस्तै उनीहरूले पनि यस कुराबाट सान्त्वना पाउनेछन् कि उहाँले एक लामो, साहसिक र फलदायी जीवन जिउनुभयो र उहाँले आफ्ना यस्ता कृतिहरूको भण्डार छोडेर जानुभएको छ जुन उहाँको अनुपस्थिति पछि पनि अमर रहनेछन्।"
मारियो भर्गास लोसाको निधनले विश्व साहित्यले एक निडर, प्रभावशाली र अतुलनीय स्रष्टा गुमाएको छ, जसका कृतिहरूले आउने पुस्ताहरूलाई पनि प्रेरित गरिरहनेछन्।