जलवायु परिवर्तनका कारण एशियाको हिन्दकुश–हिमालय क्षेत्रमा यस वर्ष २३ वर्षयताकै सबैभन्दा कम हिउँ परेको छ। यसले गर्दा यस क्षेत्रका करिब दुई अर्ब मानिसको खानेपानीको स्रोतमा गम्भीर सङ्कट आउने खतरा बढेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
अफगानिस्तानदेखि म्यान्मासम्म फैलिएको यो हिमाली क्षेत्र आर्कटिक र अन्टार्कटिकपछि धेरै हिउँ र बरफ जम्ने ठाउँ हो। यहाँको हिउँ पग्लिएर आउने पानी दक्षिण एशियाका धेरै देशका झन्डै दुई अर्ब मानिसको जीवनयापनको आधार हो।
अन्तरसरकारी संस्था ‘एकीकृत पर्वतीय विकास केन्द्र’ (आईसीिमोड) को प्रतिवेदन अनुसार, हिन्दकुश–हिमालय क्षेत्रमा हिउँ जम्ने समय सामान्यभन्दा २३.६ प्रतिशतले घटेको छ। यो पछिल्ला २३ वर्षयताकै सबैभन्दा कम हो र लगातार तेस्रो वर्ष देखिएको यस्तो अवस्थाले दीर्घकालीन असर पार्ने बताइएको छ।
यसले खोलानालामा पानीको बहाव कम हुने, भूमिगत पानीमा अत्यधिक निर्भरता बढ्ने र खडेरीको जोखिम उच्च हुने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका प्रमुख वैज्ञानिक शेर मुहम्मदले यस वर्ष हिउँ पर्न ढिलो भएको र कम परेको बताए।
क्षेत्रका धेरै देशले खडेरीको सम्भावनाबारे चेतावनी जारी गरिसकेका छन्। यसले खेतीबाली उत्पादन, खानेपानीको पहुँचमा असर पार्ने र गर्मी बढ्दै गएकाले जनजीवन थप कठिन हुने देखिएको छ।
आईसीिमोडका प्रमुख पेमा ग्यात्सोले जलवायु परिवर्तनका कारण हिउँसम्बन्धी समस्याहरू बारम्बार दोहोरिने भएकाले दीर्घकालीन नीति निर्माण र तयारी आवश्यक भएको बताए।
आईसीिमोडले सदस्य राष्ट्रहरू अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मा, नेपाल र पाकिस्तानलाई पानीको उचित व्यवस्थापन, खडेरीको तयारी, समयमै सूचना दिने प्रणाली र क्षेत्रीय सहकार्यमा जोड दिन आग्रह गरेको छ।