१५ बैशाख २०८२ , सोमबार

आरोहीको भीडले भरिभराउ सगरमाथा आधार शिविर

News
१५ बैशाख, काठमाण्डौँ ।

सगरमाथा आरोहणको वसन्त ऋतुको याम सुरु भएसँगै सगरमाथा आधार शिविर (ईबीसी) आरोही र उनीहरूका सहयोगीहरूको भीडले भरिभराउ भएको छ। विश्वभरका सयौं आरोहीहरू आरोहण अनुमतिका साथ आधार शिविर पुगेपछि त्यहाँ चहलपहल र रौनकता छाएको छ।

चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि आधार शिविरबाट ‘माउन्टेन घर’ भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे। भिडियोमा देखिएका रङ्गीचङ्गी पालहरूले सजिएको शिविर हेर्दा आधार शिविर यतिखेर विश्वको एउटा सुन्दर गाउँजस्तो देखिन्छ। ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामीरिता आफ्नै कीर्तिमान तोड्दै ३१औँ पटकको आरोहणका लागि आधार शिविर पुगेका हुन्।

"सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका छन्," आधार शिविरमा रहेका पर्वतारोही तथा एटके एक्सपीडिसनका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले भने, "आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ। उल्लासमय वातावरण छ।" उनले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाएका रङ्गीविरङ्गी पालका सजावटले आधार शिविर रमाइलो देखिएको बताए।

समुद्री सतहबाट ५,३६४ मिटर उचाइमा रहेको आधार शिविर क्षेत्रमा पाँच सयभन्दा बढी पाल टाँगिएका छन्। आरोही, सहयोगी, कुक, किचन हेल्पर गरी १,३०० भन्दा बढी मानिस आधार शिविरमा छन्। आरोहीहरूको सुविधाका लागि ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ जस्ता सेवाहरू पनि सञ्चालनमा छन्।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा सगरमाथा क्षेत्रमा आरोहीको ओइरोले बेग्लै माहोल बनेको बताउँछन्। "सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट जम्मा भएका भीडले विश्वको ध्यान खिचिरहेको छ," उनले भने। सामाजिक सञ्जालमा देखिएका सगरमाथासहितका हिमालका तस्बिर र आधार शिविरको चहलपहलले नेपालको साहसिक पर्यटनलाई विश्वबजारमा चिनाउन मद्दत पुगेको छ। लुक्लादेखि आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरूको लामो लस्कर देखिन्छ।

सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले आरोहीको जमघटले आधार शिविरको वातावरण उल्लासमय बनेको र यसले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।

तेस्रो शिविरसम्म बाटो खुल्यो

यस यामको आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविरसम्म बाटो खुलिसकेको छ। सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) को जिम्मेवारी पाएको एटके एक्सपीडिसनका दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन्। सगरमाथा प्रदूषण नियन्त्रण समिति (सपीसिसी) ले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो यसअघि नै बनाइसकेको थियो। अबको सातादेखि १० दिनभित्र सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहणको सुरुआत हुने पर्यटन विभागको अनुमान छ। आरोहण अनुमति लिएका अधिकांश आरोही झण्डै एक महिनादेखि सगरमाथा क्षेत्रमा आरोहण अभ्यासमा छन्।

सगरमाथा चढ्न ४०० बढी आरोही

पर्यटन विभागका अनुसार आइतबारसम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीले अनुमति लिएका छन्। विभागका निर्देशक लीलाधर अवस्थीले ४१ आरोही समूहले अनुमति लिएको जानकारी दिए। त्यसमध्ये ७४ महिला आरोही छन्। गत वर्षको यही याममा ४१४ जनाले अनुमति लिएका थिए। यस वर्ष विभिन्न हिमाल आरोहणबाट हालसम्म रु. ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको र आरोही आउने क्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ।

सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरी काम गरिरहेको छ। सगरमाथा आरोहणको ७२ वर्षे इतिहासमा कीर्तिमान बनाउने होडबाजीसँगै जोखिम पनि उत्तिकै छ। हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखर टेकिसकेका छन् भने नयाँ कीर्तिमान थपिने क्रम जारी छ।

यसै याममा सोलुखुम्बुका टासी ग्याल्जेन शेर्पाले २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यसहित आरोहणमा निस्किएका छन्।