‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपाली रङ्गमञ्चमा आज ४५ वर्षको सहकार्य पूरा गरेका छन्। ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा उनीहरूले हास्यव्यङ्ग्य, टेलिभिजन शृङ्खला र चलचित्रमार्फत आम दर्शकको मन जित्न सफल भएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन गर्दै उनीहरू उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित छन्। झण्डै आधा शताब्दीसम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उहाँहरू दुईको इमान्दारिताको उदाहरण हो।
यो ४५ वर्षको सहकार्यमा मह जोडीले नामसँगै दाम पनि कमाएका छन्। तर, लोभलाई उनीहरूले हावी हुन दिएनन्। फलतः सहकार्यको झण्डै आधा शताब्दी कलासाधनामा समर्पित भई दर्शकसहित आमनेपालीको मन जित्न मह जोडी सफल भएको देखिन्छ।
यसै सन्दर्भमा अभिनेता हरिवंश आचार्यले आफूलाई भाग्यमानी पुस्ताका रुपमा बुझेका छन्। उनीहरूले कलाकारिताको दौरानमा प्रविधिगत र राजनीतिक धेरै परिवर्तनलाई नजिकबाट बुझ्न पाए। “हामीले रङ्गमञ्चमा प्रहना गर्यौं, क्यासेट बनायौँ, टेलिभिजनका लागि शृङ्खला बनायौँ, चलचित्रमा पनि काम गरायौँ, त्यसकारण पनि म र मदन दाई भाग्यमानी पुस्ता बन्न पुग्यौँ। हामीले सबै माध्यममार्फत् आफ्नो कामलाई देखाउने मौका पायौँ। अहिले पनि हामीले पुराना कामलाई अत्याधुनिक प्रविधिमा रुपान्तरण गरेर ‘डिजिटल’ रुपमा उपलब्ध गराएका छौँ”, अभिनेता आचार्यले भने।
उहाँले मह जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया रहेको बताए। “दर्शकले हामीलाई एकसाथ हेर्ने इच्छा नराख्नु भएको भएँ हामीले यत्रो यात्रा पार गर्न सम्भव थिएन। अनि हामीलाई परिवारले सधँै सहयोग गरेर अगाडि बढ्न मद्दत गर्यो। हाम्रो सम्बन्धमा उनीहरू हावी भएनन्। यसका साथै हामीले गरिरहेको कामले दुवै नाम दियो, एउटा स्थान बनायो। एकअर्कासँग कहले आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरह्यौँ”, अभिनेता आचार्यले भने।
यसैगरी अभिनेता मदनकृष्ण श्रेष्ठले मिलेर काम गरेमा त्यसले सफलता दिने बताए। उमेरका हिसाबले ७५ वर्ष पुगेका अभिनेता श्रेष्ठले चलचित्रसहित विज्ञापनमा अझै सक्रिय भई काम गरिरहेका छन्। कामका सिलसिलामा कहिले त्यसको लाभ–हानि हाबी हुन् नदिएको उनले बताए।
उहाँले भन्नुभयो, “हामी कहिले पैसाको पछाडि लागेनौँ, काममै केन्द्रित भयौँ। त्यसले हामीलाई नाम र दाम दुवै दियो। फेरि दुवैको नाम र काम एउटै छ, त्यसकारण पनि हामीले सोच्नुपर्ने केही थिएन। हामीमा इमान्दारिता छ, सद्भाव छ, सदैव एकअर्काको राम्रो भएको हेर्न र सुन्न चाहन्छौँ, त्यसैले यति लामो समयसम्म मह जोडीका रुपमा यात्रा तय गर्न सकेका हौँ।”
उहाँले स्वास्थ्यले साथ दिएसम्म आफूहरू एकसाथ काम गरिरहने बताए। पछिल्लो समय दुवै जनाले एकसाथ चलचित्र ‘महापुरुष’ मा काम गरेका थिए। त्यसपछि अभिनेता आचार्यले ‘महाजात्रा’, ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ मा अभिनय गरिसक्नुभएको छ । यस्तै अभिनेता श्रेष्ठले पनि ‘पहाड’ र ‘परान’ नामक चलचित्रमा काम गर्नुभएको छ। छुट्टिएर चलचित्रको छायाङ्कन गर्दा होस् वा भोजमा, जहाँ जाँदा पनि एकलाई देखेपछि अर्कालाई खोज्नु स्वाभाविक छ। “मलाई हरिजी खोइ भनेर सोध्नु भयो भने यही त छन् नी, म भित्रै छन् भनेर भन्ने गरेको छु। कार्यक्रममा मात्र होइन चलचित्रको छायाङ्कनमा पनि सोधिरहनु हुन्छ”, अभिनेता श्रेष्ठले भने।
उहाँ दुईको कम्पनी ‘मह सञ्चार’मा २०६० सालदेखि जोडिनुभएका निर्देशक प्रदीप भट्टराई पारिवारिक सदस्य झैँ देखिनुहुन्छ। सामान्य सहयोगीका रुपमा शृङ्खलामा काम गर्न जोडिनुभएका निर्देशक भट्टराईले धेरै शृङ्खलामा मुख्यसहायक निर्देशक र केही शृङ्खलामा निर्देशक नै भएर काम गर्नुभयो। चलचित्रकै सन्दर्भमा ‘शत्रु गते’ र ‘महापुरुष’ मा मह जोडीलाई निर्देशक भट्टराईले निर्देशन गर्नुभएको छ।
“उहाँ दुई मेरा लागि जीवित भगवान् झैँ हुनहुन्छ। उहाँहरूको कर्म जस्तो छ, व्यवहार पनि त्यस्तै छ। मलाई त कर्म सिकाउने गुरू नै उहाँहरू हुनहुन्छ, मैले जे भने पनि उहाँहरूका लागि शब्द कम नै हुन्छ, मलाई एउटा छोराकै रुपमा माया गर्नुहुन्छ”, निर्देशक भट्टराईले भने।
मह जोडी एकसाथ नदेखिँदा सधैँ प्रश्न गर्ने गरिएको निर्देशक भट्टराईले देख्नु÷सुन्नुभएको छ। टेली शृङ्खलामा काम गर्दा होस् वा चलचित्रमा दुई एकसाथ नदेखिँदा प्रश्न तेर्सिनु स्वाभाविक हो। र, उहाँले मह जोडीलाई ‘दुईमै एक र एकमै दुई’ देख्नुभएको छ। जहाँ ‘म’ त्यहाँ ‘ह’ पनि हुने बुझाइ निर्देशक भट्टराईको छ। त्यसकारण मह जोडीलाई शीर्ष भूमिकामा लिएर गज्जबको चलचित्र बनाउने रहर उहाँको छ।
“उहाँहरूको क्षमतासँग म नजिकदेखि परिचित छु, त्यसैले एउटा गज्जबको चलचित्र बनाउने रहर छ। कथा पनि सोचिरहेको छु, किनकी उहाँहरूप्रति दर्शकको अपेक्षा बढेको छ, म आफैँ पनि अभिनय गराउनकै लागि गराउने पक्षमा छैन। त्यसकारण उहाँहरूलाई पर्दामा देखाउन पाउँदा म पनि दर्शक झैँ खुसी हुन्छु”, निर्देशक भट्टराईले भने।
हास्य कलाकारका रुपमा चिनिनुभएका मह जोडी अहिले आफूलाई फरक भूमिकामा प्रस्तुत गरिरहनुभएको छ। अभिनेता आचार्यले अभिनय गर्नुभएको ‘भूठान’ मा एक दृश्यमा मात्र हाँसेको देख्न पाइन्छ। ‘बलिदान’ पछि पूर्णतया गम्भीर भूमिकामा अभिनेता आचार्य प्रस्तुत हुनुभएको छ। यसअगाडि अभिनेतामा हुने नवरसमध्ये हास्यरस हावी हुँदा उहाँहरू हास्य कलाकारका रुपमा बढी प्रस्तुत हुनुभएको निर्देशक भट्टराईले बताए।
“उहाँ दुई नै पूर्ण कलाकार हुनुहुन्छ। हामीले शृङ्खलामै केही फरक र भिन्न काम गरेका छौँ। मैले उहाँहरूमा अभिनेतामा हुने सबै गुणलाई देखेको थिएँ, त्यही भएर नै ‘महापुरुष’ चलचित्रमा केही भिन्न रुपमा प्रस्तुत गरेँ। अहिले दर्शकले पनि विस्तारै बुझ्दै हुनहुन्छ, उहाँहरू सबै किसिमका भूमिका गर्नसक्ने लोकप्रिय एवं सर्वस्वीकार्य कलाकार हुनहुन्छ”, निर्देशक भट्टराईले भने।
गत वर्षमात्र मह जोडीले विदेश र नेपालमा ‘मह जात्रा’ गरेका थिएँ। आउँदो समयमा पनि सँगै काम गरी सहकार्यलाई निरन्तरता दिने पक्षमा उहाँहरू हुनुहुन्छ। छोटो समयमा नाता–सम्बन्ध टुट्ने अहिलेको जमानामा वरिष्ठ कलाकार श्रेष्ठ र आचार्यको दोस्ती र सहकार्यले ४५ वसन्त पार गर्नु एकअर्काप्रतिको इमान्दारिता र सम्मान नै हो।