बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। गुलरिया नगरपालिका-६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा दाउरा टिप्न गएकी नौ वर्षीया मेलिना खड्काको चितुवाको आक्रमणमा परी ज्यान गएको हो।
गेरुवा गाउँपालिका-६ निवासी खड्का आफन्तको व्रतबन्धमा सहभागी हुन गुलरिया आएकी थिइन्। प्रहरी उपरीक्षक केदार खनालका अनुसार घटनास्थल गुलरिया नगरपालिकाको डम्पिङ साइट नजिकै भएकाले फोहोर फाल्न गएका सरसफाइकर्मीले बालिकालाई उद्धार गरेका थिए। तर, उद्धार गर्नुअघि नै चितुवाले आक्रमण गरी उनको ज्यान लिइसकेको थियो।
बर्दियामा चितुवाको आक्रमणबाट यसअघि पनि दुई जनाको ज्यान गइसकेको छ भने एकजना घाइते भएका छन्। गुलरिया र मधुवनमा गरी अहिलेसम्म दुई बालबालिकाले ज्यान गुमाएका छन् भने गुलरिया बालापुर गाउँका दश वर्षीय सृजन चौधरी घाइते छन्।