१४ बैशाख २०८२ , आईतवार

बेगनास तालमा डुङ्गा पल्टिएपछि...

News
९ बैशाख, काठमाण्डौँ ।

बेगनास तालमा डुङ्गा पल्टिएपछिको उद्धार अभ्यास गरिएको छ। हावाहुरी र चट्याङले बेगनास ताल वरपरको मौसम खराब थियो। यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा पल्टिएको थियो। रमाउँदै डुङ्गा सयर गरिरहेका यात्रुहरू डुबेका थिए। कोही पौडेर बच्ने प्रयास गरिरहेका थिए भने कोही ‘बचाउ, बचाउ...’ भन्दै रोइरहेका थिए।

डुङ्गा पल्टिएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बलको उद्धार टोली पुगेको थियो। उनीहरूले केही यात्रुको उद्धार गरे। प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याइएको थियो।

दुर्घटनामा परी तालमा हराइरहेका एक जनालाई गोताखोर टोलीले उद्धार गरेको थियो। ज्यानको पर्वाह नगरी उद्धार टोलीले यात्रुको जीवन बचाएका थिए। यो कास्कीको पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालको घटना हो। पोखरास्थित सशस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको संयोजन र कालिका गणको आयोजनामा आज विपद् प्रतिकार्य नमूना अभ्यासअन्तर्गत जल उत्पन्न प्रकोपसम्बन्धी उद्धार अभ्यास गरिएको हो। गण्डकी प्रदेश विपद् व्यवस्थापन टिमअन्तर्गत रहेका गोताखोर, तुइन रोप उद्धारकर्तालगायत अभ्यासमा सहभागी थिए।

तालको खोँचमा फसेका मानिसलाई तुइन रोपको सहायताले उद्धार गरिएको थियो। उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रदर्शनीसमेत राखिएको थियो। सशस्त्र प्रहरीलाई विपद्जन्य उद्धार कार्यमा दक्ष र सीपयुक्त बनाउन नमूना अभ्यास आयोजना गरिएको कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सिनाले बताए। समुदायस्तरमा विभिन्न तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए।

सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङले गत साउनयता गण्डकी प्रदेशका ११ वटै जिल्लामा २९ वटा विपद् प्रतिकार्य नमूना अभ्यास गरिएको जानकारी दिए। विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणमा नमूना अभ्यासले मद्दत पुर्‍याउने उनले बताए।

उद्धार अभ्यासको अवलोकनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक विपद् न्यूनीकरण, खोज, उपचार र राहतलगायतका काममा सरोकार भएका सबै पक्ष एकजुट हुनुपर्ने बताए। गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ, त्यति नै विपद्का दृष्टिले जोखिमयुक्त रहेको उनले बताए।

मुख्यमन्त्री पाण्डेले जल उत्पन्न प्रकोप व्यवस्थापन र उद्धारका लागि बेगनास तालमा ‘उद्धार टावर’ निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको बताए। विपद्का घटना न्यूनीकरण गर्न गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमूना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रम सञ्चालनमा सहकार्य गर्दै आएको उनको भनाइ थियो। पानीजन्य विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले सशस्त्र प्रहरी बलसँगको सहकार्यमा गोताखोर तालिम सञ्चालन गरिएको उनले बताए।

“सक्रिय तयारी, सुदृढ समन्वय र स्थानीय तहसम्म उद्धार क्षमताको विकासले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरण गर्न सकिन्छ”, मुख्यमन्त्री पाण्डेले भने। प्रदेशस्तरमा रू १० करोड र जिल्लास्तरमा रू दस लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरेको जानकारी उनले दिए।

विसं २०६९ मा स्थापना भएको प्रदेश विपद् व्यवस्थापन टिममा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा ४५ जना दक्ष जनशक्ति रहेको कालिका गणका गणपति तिमिल्सिनाले जानकारी दिए। टिममा १३ जना तालिम प्राप्त गोताखोर रहेका छन्। फायर फाइटर चार जना र रोप उद्धारकर्ता सात जना रहेका छन्। हालसम्म विपद् व्यवस्थापन टिमले १२ सय ३० जनाको जीवित र दुई सय ८३ जनालाई मृत अवस्थामा उद्धार गरिएको गणपति तिमिल्सिनाले बताए।