२५ बैशाख २०८२ , बिहीबार

मोदीखोला जलविद्युत् आयोजना : तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु

News
२३ बैशाख, काठमाण्डौँ ।

पर्वतको मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ।

कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो। प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा रु एक करोड बराबरको जग्गा अधिग्रहण भइसकेको अयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिएका छन्। यो प्रसारण लाइन करिब साढे आठ किलोमिटर लम्बाइको हुनेछ।

कुश्मादेखि नयाँ मोदीसम्म प्रसारण लाइनले जोडेपछि विद्युत् व्यवस्थापनका लागि ‘रिङ लाइन’ निर्माण हुने भएको छ। यो प्रसारण लाइन एक सय ३२ केभी डबल सर्किट रहेको छ। आयोजनाको काम सम्पन्न गर्न रु ३५ करोडमा ठेक्का सम्झौता भएको भए पनि जग्गा व्यवस्थापनसहितका अन्य कामहरू गर्दा करिब रु ५० करोड खर्च लाग्ने अनुमान गरिएको छ।

प्रसारण लाइनका टावर निर्माणका लागि पहिलो चरणमा मोदी गाउँपालिका–५ बाजुङ तथा कुश्मा नगरपालिका–३ दुर्लुङ, कुश्मा नगरपालिका–७ खरेहा तथा वडा नं ८ चुवामा अधिग्रहण गरिने जग्गाको मुआब्जा दिन लागिएको हो।

पर्वतको मोदीखोलाबाट हाल चारवटा विद्युत् आयोजनामार्फत करिब ७४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने केही आयोजनाहरु निर्माण हुने चरणमा छन्।