१ असार २०८२ , आईतवार

नेपालमा विश्व वेलनेश दिवस मनाइयो

News
३१ जेष्ठ, काठमाण्डौँ ।

नेपालमा स्पा र वेलनेशमार्फत पर्यटन प्रर्वद्धन गर्न विश्व 'वेलनेश' दिवस मनाइएको छ।

स्पा सङ्घ नेपालले विश्व वेलनेश दिवसका अवसरमा आज काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरेको हो।

विश्व वेलनेश दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले मसाज, स्पा, थेरापी, वेलनेशमार्फत पर्यटन प्रवर्द्धनका लागि स्पा सङ्घ नेपालले खेलेको भूमिका सराहनीय रहेको बताए।

उपाध्यक्ष सापकोटाले वेलनेस मनोरञ्जनको साधन नभएर स्वास्थ्य र आर्थिक समृद्धिको आधार हुनसक्ने बताए। उनले नेपालकोे पर्यटन मौसममा निर्भर रहेकाले यसलाई वर्षभरि नै सञ्चालन गर्न वेलनेश पर्यटनको अवधारणालाई बोर्डले जोड दिएको बताए। पर्यटकको बसाइ अवधि बढाउन पनि वेलनेश पर्यटनबाट सहयोग पुग्ने उनको भनाइ थियो।

पाटा नेपालका अध्यक्ष खेमराज लकाइले विश्व स्वास्थ्य सङ्गठनले अबको दशकको मुख्य समस्या मानसिक स्वास्थ्य रहने र त्यसबाट मुक्तिका लागि आरोग्य पर्यटनलाई जोड दिनुपर्ने बताए। स्पालाई मनोरञ्जनबाट पर्यटकीय सम्पदा मान्नु सराहनीय रहेको उनको भनाइ थियो।

स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले व्यस्त र तनावपूर्ण जीवनलाई कम गर्नका लागि स्पा र वेलनेशको महत्वपूर्ण भूमिका रहेको बताए। सन् २०१२ मा पहिलोपटक टर्कीमा वेलनेश दिवस मनाउन सुरु गरे पनि नेपालमा भने दोस्रो वर्ष उक्त दिवस मनाउन लागिएको छ।

सो अवसरमा ठमेल पर्यटन परिषद्का महासचिव बद्री तिमिल्सिना, नेपाल होटल एशोसियसनका सदस्य अश्लेसा कार्कीलगायतले नेपाललाई वेलनेस पर्यटनको सम्भावनाकाबारे बोल्नुभएको थियो।

स्पा सङ्घ नेपालका महासचिव अमृत थोकरले प्रत्येक वर्षको जुनको दोस्रो शनिबार विश्व वेलनेश दिवस मनाउँदै आइएको जानकारी दिए। हाल विश्वका १७० देशमा उक्त दिवस मनाउँदै आएको महासचिव थोकरले बताए।