२६ मंसिर २०८२ , शुक्रबार

नेपाल चिकित्सक संघको उपाध्यक्षमा डा. अरुण शाहीको उम्मेदवारी घोषणा

News
२६ मंसिर, काठमाण्डौँ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजी विभागका सहायक प्राध्यापक डा. अरुण शाहीले नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनमा बागमती प्रदेश संयोजक तथा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

चिकित्सकहरूको हकहित तथा पेसागत मर्यादा स्थापित गर्न गठित एनएमएको नयाँ कार्यसमिति निर्वाचन नजिकिँदै गर्दा डा. शाहीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। उनले यसपटकको एनएमए निर्वाचनलाई नियमित प्रक्रियाभन्दा माथि राखेर ‘एनएमए उत्सव’ का रूपमा मनाउनुपर्नेमा जोड दिएका छन्।

आफू लामो समयदेखि अध्ययन, उपचार र स्वास्थ्य सेवामा सक्रिय रहे पनि प्रत्यक्ष राजनीतिमा कहिल्यै संलग्न नभएको बताउँदै डा. शाहीले अहिलेको स्वास्थ्य प्रणालीका चुनौतीहरू सामना गर्न नेतृत्वदायी भूमिका आवश्यक महसुस भएको उल्लेख गरेका छन्।

‘आज नेपालको स्वास्थ्य प्रणाली चुनौतीपूर्ण अवस्थामा छ, जहाँ केवल व्यक्तिगत क्लिनिकल कामले मात्रै चुनौतीसँग जुध्न सकिने देखिदैन,’ डा. शाहीले भने, ‘स्वास्थ्य सेवा र चिकित्सकको हक–अधिकारका लागि कानूनी तथा संरचनागत सुधार आवश्यक छ। त्यसका लागि आफू पनि प्रत्यक्ष भूमिकामा रहनुपर्छ भन्ने मलाई महसुस भएको छ।’
उम्मेदवारी घोषणाका क्रममा उनले पेसागत संगठनमा राजनीतिक ध्रुवीकरण हुन नहुने तर्क अघि सारेका छन्। चिकित्सकले उपचारका क्रममा बिरामीको जात, धर्म वा राजनीतिक आस्था नहेरे जस्तै पेसागत संगठनमा पनि सोही ‘इथिक्स’ (नैतिकता) लागु हुनुपर्ने उनको भनाइ छ।

डा. शाहीले भने, ‘राम्रो काम गर्न र मेडिकल एसोसिएसनको साख वृद्धि गर्न म जोकोहीसँग जोडिन तयार छु।’ उनले आगामी निर्वाचनमा सम्पूर्ण अग्रज तथा सहकर्मी चिकित्सकहरूलाई सक्रिय सहभागिता जनाउन र आफूलाई सहयोग गर्न अपिल गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. शाही एनएमएका आजीवन सदस्य समेत हुन्।