चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले किष्ट अस्पताल परिसरमा आइतबार प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा आक्रोशित भीडले अस्पतालको मुख्य गेट तोडेर विरोध सुरु गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो। भीडले अस्पताल परिसरमा ढुंगामुढा समेत गरेको जनाइएको छ।
संभावित घटनालाई मध्यनजर राख्दै अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। प्रदर्शनकारीहरूले “किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे” लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको हो।
घटना पृष्ठभूमि
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो।
के भन्छन् मृतकका आफन्त?
मृतककी दाजु देवेन्द्र राईका अनुसार, चिकित्सकको सल्लाहअनुसार मिनाश्री शुक्रबार बिहान ९ बजे किष्ट अस्पताल पुगेकी थिइन्। साँझ साढे ५ बजेसम्म पनि सुत्केरी बेथा नलागेपछि राति साढे ९ बजेतिर इन्टर्नसिप गरिरहेका चिकित्सकले जबरजस्ती नर्मल डेलिभरी गराउँदा अत्यधिक रक्तस्राव (ब्लिडिङ) भएर मिनाश्रीको मृत्यु भएको उनको आरोप छ।
देवेन्द्रले भने,
“हामीसँग कुनै सल्लाह बिना इन्टर्न चिकित्सकले सिकाइका लागि जबरजस्ती नर्मल डेलिभरी गराउँदा मेरी बहिनीले ज्यान गुमाउनुपर्यो।”
उनका अनुसार, मिनाश्री गर्भवती अवधिभर नियमित रूपमा किष्ट अस्पतालमै चेकअप गर्दै आएकी थिइन्।
“उनी नियमित हेर्ने चिकित्सकको सल्लाहबमोजिम ९ कात्तिकमा डेलिभरी गराउन अस्पताल भर्ना भएकी थिइन्। बहिनी र बच्चाको स्वास्थ्य दुवै ठिक थियो, तर अस्पतालको चरम लापरबाहीकै कारण उनले ज्यान गुमाइन्,” उनले भने।
देवेन्द्रका अनुसार, ओभर ब्लिडिङ रोक्न नसकेपछि अस्पतालले राति दुई पटकसम्म अपरेसनको नाटक गरेर आफन्तलाई झुक्याउने प्रयास गरेको थियो।
“पहिलो अपरेसनपछि पनि ब्लिडिङ रोकिएन, फेरि अर्को अपरेसन गर्नुपर्ने भनियो। हामीले स्वीकृति दियौं, रक्तदानका लागि फ्रेस ब्लडको व्यवस्था पनि गर्यौं, तर अन्ततः बहिनीलाई बचाउन सकेनौं,” उनले दुख व्यक्त गरे।
उनले थपे,
“अपरेसनमा सिनियर चिकित्सकहरू सहभागी थिएनन्। यस्तो संवेदनशील अवस्थामा इन्टर्न चिकित्सकलाई मात्र जिम्मा दिनु गम्भीर लापरबाही हो।”
आफन्त र प्रशासनबीच तनाव
देवेन्द्रका अनुसार, मृत्युको कारणबारे जानकारी माग्दा अस्पताल प्रशासनले सहयोग गर्नुभएन र उल्टै प्रहरीमार्फत आफन्तमाथि दमन गरेको छ।
“हामीले माथिल्लो तहका अधिकारीसँग वार्ता गर्न माग गरेका थियौं, तर प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएर हामीमाथि बल प्रयोग गर्यो,” उनले भने।
देवेन्द्रले अस्पतालका निर्देशक र मिनाश्रीलाई नियमित चेकअप गर्ने चिकित्सकले घटनाबारे सत्यतथ्य खुलाउनुपर्ने माग गरेका छन्।
अस्पतालको भनाइ
किष्ट अस्पताल प्रशासनले भने घटनाबारे मृतकका आफन्तसँग वार्ता भइरहेको र सत्य तथ्य बुझ्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ।