१३ बैशाख २०८२ , शनिबार

विश्व औलो दिवस र अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

News
१२ बैशाख, काठमाण्डौँ ।

विश्व औलो दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठन (WHO) ले औलो उन्मूलनका लागि नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बन्धित निकायलाई आह्वान गरेको छ। सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताएका छन्।

त्यसैगरी, आज अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि हो। दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् अप्रिल २५, १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरुप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ। यसलाई अन्तर्राष्ट्रिय सङ्गठनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन पनि भनिन्छ। उक्त सम्मेलनबाट संयुक्त राष्ट्रसङ्घ स्थापनाको बिजारोपण भएको हो।

संयुक्त राष्ट्रसङ्घमा सदस्य राष्ट्रका प्रतिनिधि र उनीहरूको भूमिका बारेमा जागरूकता बढाउन सन् २०१९ मा राष्ट्रसङ्घीय महासभाले अप्रिल २५ लाई अन्तर्राष्ट्रिय प्रतिनिधि दिवसका रूपमा घोषणा गरेको हो।