नयाँ वर्ष २०८२ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साहको कामना गरेका छन् । उनले अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिहरूलाई आधार मानेर उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।
नयाँ वर्षले सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्तिका लागि सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक रहेको बताएका छन् । राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मात्र नभई देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदान आवश्यक रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधतालाई राष्ट्रको साझा सम्पत्तिको रूपमा लिएर तिनीहरू बीचको एकतालाई शक्ति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । मुलुकमा विकास अब सपना नभएर यथार्थ बनिरहेको र ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधारले जनजीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको तथा सामाजिक सेवा प्रणालीमा सुधार भएको उनले बताए । यी लोकतान्त्रिक प्रणालीका उपलब्धिहरू भएको उनको भनाइ छ ।
युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरूलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति लिएको प्रधानमन्त्रीले बताए । मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई अँगालेर, उत्सवको रूपमा मनाएर अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्नेमा उनले जोड दिए । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्ने सन्देश उनले दिएका छन् ।