१३ चैत्र २०८२ , शुक्रबार

नवनिर्वाचित सांसदको शपथ आज, ५४ जनाले मातृभाषामा लिने

News
१२ चैत्र, काठमाण्डौँ ।

सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहणका लागि सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरेको जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा शपथग्रहण कार्यक्रम आयोजना गरिनेछ।

शपथग्रहण कार्यक्रमलाई व्यवस्थित बनाउन नवनिर्वाचित सदस्यहरूलाई कम्तीमा दुई घण्टाअघि नै सिंहदरबार पुग्न आग्रह गरिएको छ। सदस्यहरूको विवरण अद्यावधिक गर्नुपर्ने भएकाले प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो तथा नागरिकता प्रमाणपत्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यहरूले प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुअघि शपथ लिन अनिवार्य छ। सोही प्रावधानअनुसार प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्ति अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउनुहुनेछ।

सचिवालयले नवनिर्वाचित सदस्यलाई अभिलेख व्यवस्थापनका लागि आवेदन फाराम भर्न, बैङ्क खाता विवरण तथा व्यक्तिगत सम्पर्क नम्बर बुझाउन पनि अनुरोध गरेको छ। यदि कुनै सदस्य शपथ लिन छुटेमा, उनीहरूको अनुकूलताअनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यबाट पछि शपथ गराउने व्यवस्था गरिएको छ।

यसपटक ५४ जना नवनिर्वाचित सदस्यहरूले मातृभाषामा शपथ लिने जानकारी सचिवालयलाई दिएका छन्। बुधबार साँझसम्म प्राप्त विवरणअनुसार यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। सचिवालयले सम्बन्धित भाषामा शपथको पाठ अनुवाद गरी तीन दिनअघि नै जानकारी गराउन आग्रह गरे पनि केही सदस्यहरूले अन्तिम समयमा विवरण बुझाएका छन्।

नेपाली बाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू तथा थारू भाषामा शपथ लिने तयारी भएको छ। हालै सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूले शपथग्रहणपछि औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गर्नेछन्।