आज वैशाख १२ गते २०७२ सालको विनाशकारी भूकम्पको सम्झनामा देशभर भूकम्प स्मरण दिवस मनाइँदैछ। सोही दिन बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भई ७.९ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो।
उक्त भूकम्पका कारण आठ हजार ९६२ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने ३२ जिल्लामा व्यापक क्षति पुगेको थियो। हजारौँ घर ध्वस्त बनेका थिए र काठमाडौंको ऐतिहासिक धरहरासहित थुप्रै धार्मिक तथा सांस्कृतिक सम्पदाहरू नष्ट भएका थिए। नेपालसहित भारत र बङ्गलादेशमा तीन लाखभन्दा बढी परिवार घरबारविहीन बनेका थिए।
भूकम्पको त्यो भयावह अनुभव अझै पनि नागरिकको स्मृतिमा जीवित रहेको छ। विज्ञहरूले भवन निर्माण मापदण्ड पूर्ण रूपमा लागू नभएमा भविष्यमा यस्तै भूकम्प आए पुनः ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्।
दसौँ भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सन्देश जारी गर्दै भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँले भूकम्प जस्तो प्राकृतिक विपत्तिबाट जोगिन पूर्वतयारी, सचेतना र सुरक्षित निर्माण अत्यावश्यक रहेको उल्लेख गर्नुभएको छ।
राष्ट्रपतिले बढ्दो सहरीकरणले भूकम्पीय जोखिम अझ बढाएको औँल्याउँदै सुरक्षित संरचना निर्माण र जनचेतना अभिवृद्धिमा जोड दिनुभएको छ। भूकम्प रोक्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७२ पछि पुनर्निर्माणका कामहरू व्यापक रूपमा सम्पन्न भए पनि अझै पूर्ण रूपमा भूकम्प प्रतिरोधी संरचना निर्माण हुन सकेको छैन। सहरी क्षेत्रमा अझै पनि मापदण्डविपरीत भवन निर्माण भइरहेकोप्रति चिन्ता व्यक्त गरिएको छ।
पुनर्निर्माणअन्तर्गत अधिकांश निजी घर, विद्यालय तथा संरचनाहरू निर्माण सम्पन्न भइसकेका छन् भने केही सांस्कृतिक सम्पदा र संरचनाहरूको पुनर्निर्माण अझै जारी रहेको छ।